काठमाडौँ- गोरखामा हुलाक सेवामार्फत घरमै राहदानी प्राप्त गर्ने सेवाग्राहीको संख्या ५५० पुगेको छ।
जिल्ला हुलाक कार्यालय गोरखाले गत वैशाख १५ गतेदेखि जिल्लाका विभिन्न स्थानमा सेवाग्राहीको घरमै राहदानी पुर्याउने सेवा सञ्चालन गर्दै आएको छ।
गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार हालसम्म करिब ६ सय जनाले घरमै राहदानी प्राप्त गर्न आवेदन दिएका छन्। त्यसमध्ये ५५० जनाले राहदानी बुझिसकेका छन् भने बाँकी सेवाग्राहीको राहदानी आउने क्रममा रहेको उनले जानकारी दिए।
५५ रुपैयाँ हुलाक शुल्कमै घरमै राहदानी
घरमै राहदानी प्राप्त गर्न चाहने सेवाग्राहीले ५५ रुपैयाँको हुलाक टिकट शुल्क तिर्नुपर्नेछ। त्यसबाहेक थप शुल्क नलाग्ने जिल्ला हुलाक कार्यालयले जनाएको छ।
काठमाडौंबाट छापिएर आएको राहदानी जिल्ला प्रशासन कार्यालयले हुलाक कार्यालयको जिम्मा लगाएपछि सामान्यतया तीन दिनभित्र सम्बन्धित सेवाग्राहीको घरमै पुर्याउने गरिएको जिल्ला हुलाक अधिकृत विनोद गैरेले बताए।
प्रशासन कार्यालयमै छुट्टै हुलाक काउन्टर
सेवा सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालयमै हुलाकको छुट्टै काउन्टर स्थापना गरी कर्मचारी खटाइएको छ।
राहदानीको फाराम भर्न आउने सेवाग्राहीले राहदानी कार्यालयबाटै लिने वा घरमै प्राप्त गर्ने विकल्प रोज्न पाउने व्यवस्था गरिएको छ। घरमै राहदानी लिन चाहनेले हुलाक काउन्टरमा आवश्यक विवरण उपलब्ध गराउनुपर्नेछ।
मन्त्रिपरिषद्को निर्णयपछि सुरु भयो सेवा
सरकारले गत चैत १३ गते बसेको मन्त्रिपरिषद् बैठकबाट हुलाकमार्फत नागरिकको घर–घरमा राहदानी पुर्याउने निर्णय गरेको थियो।
सोही निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाक कार्यालय गोरखाबीच वैशाख १५ गते सम्झौता भएपछि जिल्लामा घरमै राहदानी पुर्याउने सेवा सुरु गरिएको जिल्ला हुलाक अधिकृत गैरेले जानकारी दिए।
उत्तरी गोरखामा पनि सेवा विस्तार
जिल्ला हुलाक कार्यालयले उत्तरी गोरखाका चुमनुब्री र धार्चे गाउँपालिकामा समेत घरमै राहदानी पुर्याउने सेवा विस्तार गरेको छ।
तर भौगोलिक विकटताका कारण चुमनुब्रीको फिलिमस्थित गाउँपालिका केन्द्रभन्दा माथिका बस्तीमा भने घरमै राहदानी पुर्याउन कठिनाइ भइरहेको हुलाक अधिकृत गैरेले बताए।
पालुङटार, सहिद लखन र आरुघाटमा माग बढी
जिल्लाको पालुङटार नगरपालिका, सहिद लखन र आरुघाट गाउँपालिकाका अधिकांश सेवाग्राहीले राहदानी घरमै प्राप्त गर्ने सेवा रोज्ने गरेको जिल्ला हुलाक कार्यालय गोरखाले जनाएको छ।
हुलाकमार्फत घरमै राहदानी प्राप्त गर्ने सुविधा उपलब्ध भएपछि सेवाग्राहीलाई राहदानी लिन पुनः कार्यालय धाउनुपर्ने बाध्यता कम भएको कार्यालयको भनाइ छ।