काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विभाजन अन्त्य गर्दै घोषित दुई महाधिवेशन रोक्न मध्यमार्गी र विवेकपूर्ण समझदारीको बाटो खोज्न आग्रह गरेका छन्।
बिहीबार प्रेस वक्तव्य जारी गर्दै कोइरालाले कांग्रेसको आन्तरिक विभाजनले पार्टीसँगै नेपालको राष्ट्रियता र लोकतान्त्रिक आन्दोलनमा समेत असर पार्न सक्ने बताएका हुन्। उनले आफू विगतदेखि नै पार्टीभित्र सहमति, सहकार्य र एकताका लागि प्रयासरत रहेको उल्लेख गरेका छन्।
‘मेरो पीडा कांग्रेसको आसन्न घोषित दुई महाधिवेशनबाट यो देशको राष्ट्रियता र लोकतान्त्रिक आन्दोलनमा पर्ने आघात हो। यो रोकौँ, एउटा मध्यमार्गी र विवेकपूर्ण समझदारीको बाटो खोजौँ,’ कोइरालाले भनेका छन्।
उनले अहिले कांग्रेस विभाजित र विघटनकारी अवस्थामा पुगेको टिप्पणी गर्दै आफूहरूले विगतमा विरासतका रूपमा पाएको कांग्रेस अजेय रहेको स्मरण गरेका छन्। तर अहिले पार्टी न अजेय रहेको न विजयको अवस्थामा रहेको उनको भनाइ छ।
‘आज हामी न अजेय छौँ, न विजय नै छौँ। हामी विभाजित, विघटनकारी र समुद्रमा गन्तव्य हराएको माझीजस्तै भएका छौँ,’ उनले भनेका छन्।
कोइरालाले पार्टीभित्रको विवादका कारण प्राकृतिक विपत्तिमा परेका नागरिकको पीडाप्रति समेत कांग्रेस पर्याप्त संवेदनशील बन्न नसकेको भन्दै प्रश्न उठाएका छन्।
रसुवा, नुवाकोट र धादिङलगायत क्षेत्रमा भएको प्राकृतिक विपत्तिमा नागरिकले ज्यान गुमाएको तथा ठूलो पीडा भोगिरहेको अवस्थामा कांग्रेस आन्तरिक विवादमा अल्झिनु उचित नभएको उनको भनाइ छ। चाडपर्वको मुखमा परिवारका सदस्य तथा आफन्त गुमाएका नागरिकको दुःख बुझ्न नसकेको भन्दै उनले पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाएका छन्।
‘नेपाली जनता रोइरहेका छन्, सर्वसाधारणहरू चाडपर्वको मुखमा परिवारका सदस्य र आफन्त गुमाएर चेतनाशून्य भएर बसेका छन्। उनीहरूको दर्द र पीडा किन हामी बुझ्न सकिरहेका छैनौँ ? हामी के गर्दैछौँ ?’ उनले प्रश्न गरेका छन्।
पार्टीभित्रको विवाद समाधानका क्रममा कानुन र विधानका धारालाई मात्रै आधार बनाएर अघि बढ्दा मानवीय संवेदनालाई बेवास्ता हुने उनको तर्क छ। उनले कांग्रेसले सहमति, सहकार्य र एकताको बाटोबाट अघि बढ्दै विपत्तिमा परेका नागरिकको घाउमा मलम लगाउनुपर्ने बताएका छन्।
कोइरालाले आफू कांग्रेस विभाजनबाट उत्साहित हुन नसक्ने र ‘को ठीक, को बेठीक’ भन्दै पक्ष–विपक्षमा उभिन नचाहेको स्पष्ट पारेका छन्।
‘कांग्रेस हुँ भन्ने तर आफ्नै साथीभाइमाथि असुरक्षा, अपमान र घृणा पैदा गरेर निर्माण गरिने कांग्रेसको महलमाथि म बस्न सक्दिनँ,’ उनले भनेका छन्।
पार्टीभित्र कोही हार्ने र कोही जित्ने अवस्थालाई ‘विजयी कांग्रेस’ भनेर उत्सव मनाउन नसकिने उनको भनाइ छ। कांग्रेसको संस्कार र संस्कृति नै सहमति, सहकार्य र एकतामा आधारित रहेको उनले बताएका छन्।
विश्व राजनीतिमा देखिएको परिवर्तनको प्रभाव नेपालमा समेत परिरहेको प्रसंग उल्लेख गर्दै कोइरालाले कांग्रेसका संस्थापक नेता बीपी कोइरालालाई स्मरण गरेका छन्। बीपी कोइरालालगायत संस्थापक नेताले स्थापित गरेको निष्ठा, आदर्श र नैतिक शक्तिबाट प्रेरणा लिएर पार्टीलाई एकताबद्ध बनाउनुपर्ने उनको भनाइ छ।
उनले आफूले रोजेको मध्यमार्ग कठिन भए पनि सत्य र कांग्रेसको जीवनदर्शनसँग जोडिएको बाटो भएको बताएका छन्। आफू आरोपित भइरहेको भए पनि कांग्रेस र नेपालको लोकतन्त्र सफल भएको हेर्न चाहने ‘कांग्रेस सिपाही’ रहेको उनको भनाइ छ।
कोइरालाले आफू कसैप्रति आरोप–प्रत्यारोप गर्न नचाहेको स्पष्ट गर्दै कांग्रेसको सफलता सबै पक्षको एकताबद्ध प्रयासबाट मात्रै सम्भव हुने बताएका छन्।
‘हाम्रो विवेक मरेको छ भन्ने कुरामा म किमार्थ विश्वास गर्दिनँ। हामी उठ्छौँ, जुट्छौँ र जित्छौँ,’ उनले भनेका छन्।
उनले गाउँ–टोलदेखि केन्द्र हुँदै विदेशमा रहेका कांग्रेसका नेता तथा कार्यकर्तालाई पार्टी एकताका लागि दृढतापूर्वक जुट्न आग्रह गरेका छन्। कांग्रेस एकता र राष्ट्र निर्माणको अभियानलाई अलग–अलग रूपमा बुझ्न नसकिने उल्लेख गर्दै कोइरालाले आगामी दिनमा समेत संवाद र भेटघाटमार्फत पार्टी एकताका लागि प्रयास जारी राख्ने बताएका छन्।