काठमाडौँ- रसुवाको भोटेकोशी–त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट र धादिङको शिक्षा क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। बाढीका कारण ६३ वटा शैक्षिक संस्था प्रभावित भएका छन् भने १४ हजार ५०० भन्दा बढी बालबालिकाको सिकाइमा प्रत्यक्ष तथा अप्रत्यक्ष असर परेको छ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रको नेतृत्वमा नेपाल शिक्षा क्लस्टरका साझेदार संस्थासँग मिलेर गरिएको द्रुत क्षति तथा आवश्यकतासम्बन्धी स्थलगत सर्वेक्षणले शिक्षा क्षेत्रमा भएको क्षतिको अवस्था सार्वजनिक गरेको हो।
सर्वेक्षण गरिएका ३४ शैक्षिक संस्थामध्ये ३१ वटामा भौतिक क्षति पुगेको पाइएको छ। बाढीले ४५ वटा विद्यालय भवन र २६८ वटा कक्षाकोठा पूर्ण वा आंशिक रूपमा क्षतिग्रस्त बनाएको छ। क्षतिकै कारण १९ विद्यालय पूर्ण रूपमा बन्द भएका छन् भने ४ विद्यालय अस्थायी रूपमा बन्द छन्। ७ विद्यालय मात्र सामान्य रूपमा सञ्चालनमा रहेको सर्वेक्षणमा उल्लेख छ।
बाढीबाट विद्यालयका ८२ वटा शौचालय, ३५ वटा खानेपानी आपूर्ति प्रणाली र २० वटा प्राथमिक खानेपानी स्रोतमा समेत क्षति पुगेको छ। यस्तै, ३ हजार २३२ थान पाठ्यपुस्तक, २ हजार २२७ सेट शिक्षण–सिकाइ सामग्री, ४ हजार ५६१ डेस्क–बेञ्च, १९४ डेस्कटप कम्प्युटर र १४४ ल्यापटप क्षतिग्रस्त भएका छन्।
विद्यार्थी र शिक्षकमा पनि ठूलो क्षति
बाढी प्रभावित क्षेत्रमा प्रारम्भिक अभिलेखअनुसार ९ हजार ४३० विद्यार्थी र ५५९ शिक्षक रहेका थिए। तीमध्ये ५ विद्यार्थी र २ शिक्षकको मृत्यु भएको पुष्टि भएको छ।
५ सय बालबालिका र २४ शिक्षक अझै बेपत्ता वा सम्पर्कविहीन छन् भने १ हजार ३७२ विद्यार्थी विस्थापित भएका छन्।
नुवाकोटमा सबैभन्दा ठूलो भौतिक क्षति
जिल्लागत रूपमा नुवाकोट सबैभन्दा बढी प्रभावित भएको सर्वेक्षणले देखाएको छ। नुवाकोटमा ३ हजार ८ विद्यार्थी र १७७ शिक्षक प्रभावित भएका छन्। त्यहाँ २२७ विद्यार्थी र ११ शिक्षक बेपत्ता छन् भने ५ विद्यार्थी र १ शिक्षकको मृत्यु भएको छ।
नुवाकोटमा ६३ वटा भवन र २९४ वटा कक्षाकोठा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। जिल्लाको प्रारम्भिक कुल क्षति ३ अर्ब २५ करोड ५० लाख रुपैयाँ अनुमान गरिएको छ।
नुवाकोटमा सञ्चालित २२ वटा होल्डिङ सेन्टरमध्ये १३ वटा विद्यालय परिसरमै स्थापना गरिएकाले विद्यालयको नियमित पठनपाठन सञ्चालनमा थप चुनौती देखिएको छ।
त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा मात्रै करिब १ अर्ब ५० करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ। त्रिशूली कम्युनिटी बोर्डिङ, उत्तरगया बोर्डिङ, रामचन्द्र आधारभूत विद्यालय र पोष्टबहादुर बोगटी बहुप्राविधिक विद्यालयलाई समेत तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने अवस्था रहेको सर्वेक्षणले औँल्याएको छ।
धादिङमा विद्यालय र पहुँच मार्ग प्रभावित
धादिङमा बाढी तथा पहिरोले विद्यालय भवनसँगै खानेपानी, सरसफाइ संरचना र विद्यालयसम्म पुग्ने बाटोमा क्षति पुर्याएको छ।
वागेश्वरी माध्यमिक विद्यालय, बुद्धिविकास आधारभूत विद्यालय, धुस्सा सामुदायिक अध्ययन केन्द्र र अम्लेश्वर गुरुकुल विद्यालयमा बाढी तथा हिलो पसेर शैक्षिक सामग्री नष्ट भएका छन्। अम्लेश्वर गुरुकुलको भवन पूर्ण रूपमा बाढीले पुरिएकाले सोही स्थानमा विद्यालय पुनः सञ्चालन गर्न कठिन देखिएको छ।
जलेश्वरी, चन्द्रोदय, शङ्खादेवी माध्यमिक विद्यालय र भद्रकाली गुरुकुलमा खानेपानीका लिफ्ट तथा बोरिङ प्रणालीमा क्षति पुगेको छ। झोलुङ्गे पुल र सडकसमेत बगेका कारण कतिपय बालबालिका विद्यालयसम्म पुग्न नसक्ने अवस्था रहेको सर्वेक्षणमा उल्लेख छ।
रसुवामा अवस्था थप संवेदनशील
रसुवाको अवस्था अझ संवेदनशील रहेको छ। रसुवागढी क्षेत्रबाट सुरु भएको लेदोसहितको बाढीले गोसाइँकुण्ड, उत्तरगया, कालिका र आमाछोदिङमो गाउँपालिकामा ठूलो क्षति पुर्याएको छ।
प्रतिवेदनअनुसार रसुवामा मात्रै २८५ विद्यार्थी सम्पर्कविहीन छन्। ४० बालबालिकाले आफ्ना दुवै अभिभावक गुमाएका छन्।
टिमुरेस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय पूर्ण रूपमा नष्ट भएको छ। उक्त विद्यालयका २५ विद्यार्थी र ६ शिक्षक सम्पर्कविहीन रहेको जनाइएको छ।
तीन महिनाका लागि विशेष प्रतिकार्य योजना
बाढीबाट प्रभावित शिक्षा क्षेत्रलाई पुनः सञ्चालनमा ल्याउन शिक्षा तथा मानव स्रोत विकास केन्द्र र नेपाल शिक्षा क्लस्टरले सुरुका तीन महिनाका लागि एकीकृत विशेष प्रतिकार्य योजना तयार पारेका छन्।
योजनाअनुसार प्रभावित क्षेत्रमा ४६ वटा अस्थायी सिकाइ केन्द्र स्थापना गरिनेछ। तीमध्ये धादिङमा ९ र नुवाकोटमा ३७ वटा अस्थायी सिकाइ केन्द्र रहनेछन्।
यस्तै, ८२ वटा अस्थायी शौचालय निर्माण, ५५ वटा खानेपानी प्रणाली पुनःस्थापना, २० बाकस प्रारम्भिक बाल विकास किट, ९३ बाकस विद्यालय किट, ९ हजार ४३० विद्यार्थीका लागि विद्यार्थी किट तथा १ हजार ३७२ विस्थापित विद्यार्थीका लागि आपत्कालीन सहयोग किट वितरण गर्ने योजना छ।
त्यसैगरी २ हजार २२७ सेट स्वःअध्ययन सामग्री, ९३ वटा शिक्षक किट, ३ हजार २३२ थान पाठ्यपुस्तक र ४ हजार ५६१ सेट फर्निचर उपलब्ध गराइनेछ।
विद्यालय परिसरमा थुप्रिएको भग्नावशेष हटाउने, २० विद्यालय परिसरको सफाइ गर्ने तथा ३१ विद्यालयको विस्तृत प्राविधिक मूल्यांकन गर्ने योजना पनि अघि सारिएको छ।
स्थलगत सर्वेक्षण शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक डा. श्यामप्रसाद आचार्यको संयोजकत्वमा गरिएको थियो। सर्वेक्षणमा युनिसेफ, शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शिक्षा विकास निर्देशनालय बागमती प्रदेश र सेभ द चिल्ड्रेनका प्राविधिक तथा प्रतिनिधिको सहभागिता थियो।
केन्द्रले स्थानीय तहबाट प्राप्त हुने थप अद्यावधिक विवरणका आधारमा क्षति तथा प्रभावितको तथ्यांकमा केही परिवर्तन हुन सक्ने जनाएको छ।