काठमाडौँ- नेपाली विद्यार्थीहरुको प्रमुख शैक्षिक गन्तव्यका रुपमा जापान रहदै आएकाे छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी शिक्षण संस्थामा अध्ययन गर्न जाने नेपाली विद्यार्थीलाई प्रदान गर्ने विदेश अध्ययन अनुमति पत्र (एनओसी) लिने विद्यार्थीमध्ये जापान पहिलाे नम्बरमा छ।
जापान अध्ययन र राेजगारीका हिसाबले नेपाली विद्यार्थीकाे राेजाइमा पर्ने गरेकाे छ। जापानको शैक्षिक अवस्था, अवसर र चुनौतीका बारेमा सक्रिय शैक्षिक परामर्श संघ, नेपाल (एइक्यान)का अध्यक्ष किशोर तिवारीसँग गरिएको कुराकानीः
जापान नेपाली विद्यार्थीका लागि उपयुक्त शैक्षिक गन्तव्य हुनुकाे कारण के देख्नुहुन्छ ?
जापान अध्ययनसँगै अवसरका हिसाबले नेपाली विद्यार्थीका लागि उपयुक्त शैक्षिक गन्तव्य हो। मुलत: अध्ययनका लागि नेपाली विद्यार्थीहरु अध्ययन गर्नका लागिनै जाने हो। राम्रो भाषा बनाएर गएका विद्यार्थीहरुका लागि प्रशस्त अवसर भएका कारण नेपाली विद्यार्थीहरुको रोजाइको मुख्य गन्तव्य बनेको हो।
यो सँगै तुलनात्मक रुपमा कम खर्चमै जान सकिने भएकाले मध्यम स्तरका परिवारवाट जापान जाने विद्यार्थीको संख्या बढि पाइएको छ। जापानमा विशेष गरेर जापानीज भाषा अध्ययन गर्न विद्यार्थी भाषा स्कुलमा जाने गरेका छन्। भाषाको सिकाइ पछि अध्ययनलाई अगाडी बढाउन विद्यार्थीहरुले सक्नेछन्। जापानमा विद्यार्थी एकेडेमिक लाइनमा र व्यवसायीक सीपमुलक तालिम लिन पनि जान सक्नेछन्।
जापान अध्ययनका विषयमा विद्यार्थी र अभिभावकले ध्यान दिनुपर्ने विषयहरू के – के छन् ?
जापान जानुपूर्व विद्यार्थी र अभिभावकले जापान पठाउन योग्य, अनुभवि र दक्ष शैक्षिक परामर्शदाता छनाेट गर्नुपर्ने हुन्छ। परामर्श व्यवसायीले पनि विद्यार्थीको इच्छा चाहनालाई बुझेर सोही अनुसार परामर्श प्रदान गर्नुपर्छ।
विद्यार्थीले भाषा तयारी कक्षाको विषयमा बुझेर अध्ययन पश्चातका अवसर र चुनौतीका बारेमा परामर्श लिन आवश्यक छ। विद्यार्थीलाई जापानको एजुकेशन सिस्टमको बारेमा बुझाएर मात्र पठाउनु पर्छ। गलत परामर्श व्यवसायीकोमा पुगेर पनि कतिपय विद्यार्थीहरूले दुःख पाउनुपरेको अवस्था छ।
परामर्श व्यवसायी छनोट गर्दा ध्यान दिनुपर्छ। आफू जापानको कुन स्कुल, कुन विश्वविद्यालयमा कति समय पढ्न जान लागेको हो स्प्रष्ट हुन आवश्यक देखिन्छ। आफू जादैँ गरेको स्कुल , क्याम्पस र विश्वविद्यालयको शैक्षिक गुणस्तर, भौतिक शैक्षिक पूर्वाधार, उक्त संस्थाको पृष्ठभूमिका विषयमा राम्रो सँग बुझ्न जरुरी छ। विद्यार्थीले पाएको सुविधा र भोग्नुपरेका समस्याकाबारेमा यस अघि जापानमा पढ्न गएकाहरूसँग पनि बुझ्न सकिन्छ।
अभिभावकले पनि अध्ययन अवधिसम्म आफ्ना सन्तानसँग आर्थिक सहयोगको अपेक्षा गर्नु हुँदैन। उसले अध्ययनसँगै सिप सिकेर दक्षता हासिल गरेमा मात्र आफ्नो भविष्य बनाउन सक्छ भन्ने सम्झिनुपर्छ। जापानमा गएका विद्यार्थीलाई जाने वित्तिकै पैसा पठाउनुपर्छ भनेर दबाब दिनुहुँदैन।मुल उद्देश्य अध्ययन भएकाले उसको अध्ययन सक्नका लागि अभिभावकले सहजिकरण गर्न आवश्यक छ।
विद्यार्थीले जापानमा गएर पढ्न चुनौतीपूर्ण छ भनी बुभ्न जरुरी छ। जापान मात्र होइन जुनसुकै देशमा गएर अध्ययन गर्नु भनेको अवसरसँगै चुनौतीपूर्ण हुने भएकाले आफूलाई सोही अनुकुलमा ढाल्न जरुरी छ। विद्यार्थीले प्रतिकुल अवस्थाको सामना गर्न समेत तयारी अवस्थाको मानसिकता बनाइ गएमा त्यहाँ घुलमिल हुन सहज हुनेछ।
जापानमा पढ्न गएका विद्यार्थीहरुको प्रतिक्रिया कस्तो पाउनुभएकाे छ?
सबै विद्यार्थीको एकै खालको अवस्था हुँदैन, जापानको कुन ठाँउ, कस्तो कलेजमा विद्यार्थी जाँदैछ यसमा अवस्था निर्भर गर्दछ। यो हिसाबमा मिश्रित प्रतिक्रिया पाउन सकिन्छ।
विद्यार्थीलाई आर्कषित गर्ने मात्र होइन सहि परामर्श विद्यार्थीहरुलाई दिन जरुरी छ। मूख्य कुरा विद्यार्थीले भाषा राम्रो बनाएर गएमो खण्डमा गइसकेपछि सहज अवस्था आउँछ।
एइक्यानले विद्यार्थी र अभिभावकलाई लक्षित गरेर के – कस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ?
एइक्यानमा आबद्ध भएका संस्थालाई जापान अध्ययनबारे अभिमुखीकरण गर्ने, परामर्शदाताको क्षमता विकास गर्ने र प्रभावकारी परामर्श गर्ने विषयमा हामीले जोड दिँदै आएका छौँ। इमिग्रेसनका अपडेटका विषयमा जानकारी दिने, काउन्सिलमा आएका नीतिगत परिवर्तनका विषयमा आफ्ना सदस्यलाई सुशुुचित गर्ने जस्ता गतिविधि गर्दै आएका छौँ। संघको तर्फबाट आफ्ना सदस्यलाई भ्रामक विज्ञापन नगर्न सुशुचित गर्ने काम गर्दे आएका छौँ।
कुनै सदस्यले संघले बारम्बार ताकेता गर्दा पनि त्यस्ता गतिवधि गर्न छोड्नुभएन भने हामीले संघको सदस्यतानै खारेज समेत गर्छौ। यसका साथै राज्यको सम्बन्धित निकायमा पनि यस विषयमा जानकारी गराउँछौँ।
जापान जाने विद्यार्थीका लागि जापानीज भाषा कति महत्वपूर्ण छ ?
जापानमा अँग्रेजी भाषा खासै प्रयोगमा नआउने भरएकाले जापानीज भाषा अध्ययन भनेको जापानमा विश्वविद्यालय प्रवेश गर्ने व्रिजकोर्स जस्तै हो। त्यसैले भाषा अध्ययन गर्न जाने विद्यार्थीलाई रोक्नुहुँदैन।
जापानमा हामीले पठाएका विद्यार्थीले जापानका विभिन्न उच्च तह र राज्यका निकायमा पनि काम पाएको अवस्था छ। त्यहाँ भाषा जाने पछि अवसरका लागि ढोका खुल्छ। त्यहाँको नीति नियम बुझ्न पनि भाषा, समाज र सँस्कृति बारे जान्न आवश्यक छ। भाषामा समेत दख्खल भएर जापानमा व्यापार व्यवसाय र पेशा गरेर बसेका नेपालीहरु पनि प्रसस्त छन्।
विद्यार्थीले विदेशमा मानसिक तनाव भोग्नु परेका घटनाहरु पनि सुनिने गरेका छन्, यसकाे कारण के देख्नुहुन्छ?
सबै भन्दा पहिले विदेश जाने विद्यार्थीले विदेशमा अध्ययन आफ्नो घरमा जस्तो सहज हुँदैन भनि सोही अनुसारको तयारी गर्नुपर्ने हुन्छ। विदेशमा जुनकुकै अवस्थाको पनि सामना गर्न सक्ने मानसिकता बनाउन जरुरी छ। सहि परामर्श विना विदेश जाँदा पनि विद्यार्थीले दुख पाउने अवस्थाहरु आउन सक्छ। विद्यार्थीले आफू अध्ययन गर्न जाने स्कुल र जान सहजिकरण गर्ने परामर्श व्यवसायी कस्तो छ भन्ने बुझेर मात्र जानुपर्छ।
विद्यार्थीले विदेश जादाँ ठूलो अपेक्षा राख्नुहुँदैन। विद्यार्थीले पार्ट टाइम जब पाउन पनि भाषागत रुपमा दक्ष हुनुपर्छ। लहलहैमा जापान जाने विद्यार्थीले दुःख पाउँछन्।
विद्यार्थी जापान गएपछि त्यहाँको वातावरण र खानपान फरक हुँदा सुताइ र खानपिन पनि विग्रिन्छ। विद्यार्थीले कम सुत्ने, फ्याटी फुड खाने र मदिरा सेवन गर्ने गर्दा मानसिक रुपमा अस्वस्थ हुन्छन्। उनीहरूको अपेक्षा ठूलो हुँदा डिप्रेसनमा जाने पनि हुन सक्छ।
जापानमा अध्ययन गरेका दक्ष जनशक्तीलाई नेपाल फर्काउन राज्यले कस्तो नीति अवलम्बन गर्नुपर्छ?
मुलुकमा हालै मात्र नयाँ सरकार बनेको छ। यसले विदेशमा रहेका थुप्रै संख्यालाई स्वदेश फिर्ता गराउने सवालमा केहि योजना बनाउला भन्ने आशा गर्न सकिन्छ। विदेशबाट आफ्ना नागरिकलाई नेपाल फर्काउने स्पष्ट नीति नहुँदा अध्ययनका लागि गएका नेपालीहरु स्वदेश फर्किने वातावरण बन्न सकेको छैन।
जापान अध्ययनमा गएका विद्यार्थी पनि नेपाल फर्किएर व्यवसाय गर्न खोज्दा राज्यको तर्फबाटै विभिन्न उल्लझनहरू छन्। विदेशमा सिकेको सीपको सदुपयोग गर्न राज्यले पनि अग्रसरता लिन जरुरी छ। कानुनी अड्चनका कारण व्यवसाय सुरु गरेका व्यक्तीले पनि बन्द गरेर फेरी विदेश फर्केका उदाहरण पनि छन्।
राज्यले व्यवसायीमैत्री वातावरण बनाएर लगानीको सुरक्षा गर्नेगरी कानुन निर्माण गरेमा मात्र व्यवसाय गर्ने उद्देश्यले विदेशिएका नेपाली पनि फर्किन सक्छन्।
जापानमा अध्ययनका धेरै नेपालीहरु जाँदै गर्दा ठूलो रकम विदेशीएको छ, सोही अनुसार रेमिट्यान्सको अवस्था कस्तो छ ?
जापानमा अध्ययनको नाममा रकम विदेशिएको मात्र छैन गएका विद्यार्थीले नेपालमा रेमिट्यान्सको रुपमा ठूलो धनराषी पठाएका पनि छन्। यसले मुलुकको अर्थतन्त्रमा ठूलो योगदान गरेको पनि छ। अर्काे तर्फ विद्यार्थी विदेशमा पढ्न जानु भनेको एक किसिमको लगानी पनि हो। अभिभावकले किन लगानी गरेका छन् भन्ने बुझ्नुपर्छ।
राज्यले नै अध्ययनका लागि विदेश जानै नपर्ने अवस्था बनाउनुपर्छ। विद्यार्थीले आफ्नो भविष्य नेपालमै देखे भने उनीहरू विदेश जान आफै निरुत्साहित हुने अवस्था आउन सक्छ।
जापान अध्ययनमा जान चाहने विद्यार्थी र अभिभावकलाई के सुझाव दिनुहुन्छ?
जापान अध्ययनमा जादाँ त्यहाँको बस्तुस्थितिका बारेमा सम्पूर्ण कुरा बुझेर मात्र जान उपयुक्त हुन्छ। यसका लागि अनुमवि र दक्ष शैक्षिक परामर्शदाताको परामर्श लिन आवश्यक छ। अभिभावक पनि विद्यार्थीले सबै कुरा गर्न सक्छ भनेर जिम्मेवारीबाट पन्छिनु हुँदैन। अभिभावक सहितको परामर्श आवश्यक हुन्छ।
गुणस्तरीय सेवा दिने परामर्शदातृ संस्थाबाट जादाँ उनीहरूले दुःख पाउँदैनन्। जापानमा भाषा अध्ययन गर्न जाने भएकाले जुनसुकै तह अध्ययन गरेका विद्यार्थी पनि जान सक्छन्। विद्यार्थीले आफ्नो रुचि अनुसारको विषय छनोट गर्नुपर्छ। सबैभन्दा महत्वपूर्ण कुरा विद्यार्थी विदेश अध्ययनमा जानुको उद्देश्य स्पष्ट हुन जरुरी छ।