स्याङ्जा - शिक्षा क्षेत्रमा उल्लेखनीय लगानी र सुधारमुखी कार्यक्रममार्फत स्याङ्जाको फेदिखोला गाउँपालिका नेपालकै उदाहरणीय स्थानीय तहका रूपमा स्थापित हुँदै गएको छ। संघीय सरकारले शिक्षामा करिब १०.७ प्रतिशत बजेट विनियोजन गरिरहेको अवस्थामा फेदिखोला गाउँपालिकाले आफ्नो कुल बजेटको ३८.७९ प्रतिशत शिक्षा क्षेत्रमा खर्च गर्दै आएको जनाएको छ।
गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीको नेतृत्वमा शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै विभिन्न सुधारात्मक कार्यक्रम सञ्चालन गरिएका छन्। गाउँपालिकाभित्र हाल १० वटा माध्यमिक र १७ वटा आधारभूत गरी २७ वटा सामुदायिक विद्यालय सञ्चालनमा छन्।
आर्थिक वर्ष २०८१/८२ देखि विद्यालय कर्मचारी र बालविकास शिक्षकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने निर्णय कार्यान्वयनमा ल्याएर फेदिखोला नेपालकै पहिलो गाउँपालिका बनेको छ। त्यस्तै, अस्थायी प्रकृतिका शिक्षकहरूलाई पनि सामाजिक सुरक्षा कोषमा समेटी त्यसबाट प्राप्त हुने सुविधा उपलब्ध गराउने व्यवस्था गरिएको छ। निजी स्रोत तथा अनुदान कोटामा कार्यरत शिक्षकहरूलाई समेत नियमानुसार सेवा–सुविधा र पोशाक प्रदान गरिँदै आएको गाउँपालिकाले जनाएको छ।
प्रत्येक माध्यमिक विद्यालयमा गाउँपालिकाकै स्रोतबाट एक–एक जना कम्प्युटर तथा सूचना प्रविधि (आईटी) शिक्षक नियुक्त गरिएको छ। सूचना प्रविधिमा विद्यार्थीको रुचि र क्षमता अभिवृद्धि गर्न नियमित रूपमा आईटीसम्बन्धी प्रतियोगितासमेत आयोजना गरिँदै आएको छ।
गाउँपालिकाका अनुसार यहाँका ९५.५ प्रतिशत बालबालिका सामुदायिक विद्यालयमै अध्ययनरत छन्, जुन स्थानीय सरकारको सार्वजनिक शिक्षाप्रतिको विश्वास र लगानीको सकारात्मक परिणामका रूपमा हेरिएको छ।
गाउँपालिका अध्यक्ष सुवेदीले आफ्ना दुई सन्तानलाई पनि सुरुदेखि नै सामुदायिक विद्यालयमा अध्ययन गराउँदै आएका छन्। यसलाई उनले सार्वजनिक शिक्षाप्रतिको आफ्नो प्रतिबद्धताको व्यवहारिक उदाहरणका रूपमा प्रस्तुत गरेका छन्।
२०७४ र २०७९ को स्थानीय तह निर्वाचनमा घनश्याम सुवेदी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) (एमाले)को तर्फबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन्। उनी गाउँपालिका महासंघको गण्डकी प्रदेश कमिटी सदस्यसमेत रहेका छन्।
गाउँपालिकाले शिक्षा क्षेत्रलाई अझ प्रभावकारी र गुणस्तरीय बनाउने उद्देश्यसहित विगतदेखि सञ्चालन गर्दै आएका कार्यक्रमलाई निरन्तरता दिँदै थप सुधारात्मक निर्णयहरू पनि कार्यान्वयनमा ल्याइरहेको जनाएको छ।