जनकपुरधाम- मधेश प्रदेश सरकारले सामुदायिक विद्यालयका प्रारम्भिक बालविकास तथा शिक्षा (ईसीडी) कक्षामा सिकाइ सामग्री व्यवस्थापन तथा कक्षाकोठा स्तरोन्नतिका लागि अनुदान उपलब्ध गराउने भएको छ। शिक्षा तथा संस्कृति मन्त्रालयले चालु आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार विद्यालय छनोटसम्बन्धी सूचना जारी गरेको हो।
मन्त्रालयका अनुसार मधेश प्रदेशका प्रत्येक जिल्लाबाट १० वटा सामुदायिक विद्यालय छनोट गरिनेछ। प्रदेशका आठ जिल्लाबाट गरी कुल ८० वटा सामुदायिक विद्यालयले उक्त कार्यक्रमअन्तर्गत अनुदान पाउनेछन्। छनोट भएका प्रत्येक विद्यालयलाई ६ लाख रुपैयाँका दरले अनुदान उपलब्ध गराइनेछ।
यस आधारमा ८० विद्यालयका लागि सरकारले कुल ४ करोड ८० लाख रुपैयाँ अनुदान उपलब्ध गराउनेछ। उक्त रकम प्रारम्भिक बालविकास कक्षामा आवश्यक सिकाइ सामग्री व्यवस्थापन तथा कक्षाकोठा स्तरोन्नतिमा खर्च गर्नुपर्नेछ।
मन्त्रालयले इच्छुक तथा तोकिएका मापदण्ड पूरा गर्ने सामुदायिक विद्यालयलाई सूचना प्रकाशित भएको मितिले सार्वजनिक बिदा बाहेक ३० दिनभित्र कार्यालय समयमा आवश्यक कागजातसहित आवेदन पेस गर्न आग्रह गरेको छ। मन्त्रालयले पहिलो पटक सूचना २०८३ असोज ३० गते प्रकाशित गरेको जनाएको छ।
कार्यक्रममा सहभागी हुन सम्बन्धित निकायबाट स्वीकृत वा अनुमति प्राप्त सामुदायिक विद्यालय हुनुपर्नेछ। साथै, विद्यालयमा प्रारम्भिक बालविकास तथा शिक्षा (ईसीडी) कक्षा सञ्चालनमा रहेको हुनुपर्ने मन्त्रालयले स्पष्ट पारेको छ।
त्यस्तै, विद्यालयसँग प्रारम्भिक बालविकास कक्षाका लागि छुट्टै कक्षाकोठा रहेको वा उपलब्ध गराउन सक्ने प्रतिबद्धता हुनुपर्नेछ। अनुदान प्राप्त भएपछि ईसीडी कक्षाकोठा स्तरोन्नति तथा आवश्यक सिकाइ सामग्री व्यवस्थापन गर्न सक्ने क्षमता र प्रतिबद्धता पनि विद्यालयले जनाउनुपर्नेछ।
कार्यक्रम कार्यान्वयनका लागि विद्यालय व्यवस्थापन समिति तथा विद्यालय प्रशासन अर्थात् प्रधानाध्यापक र शिक्षक जिम्मेवार रहने व्यवस्था गरिएको छ। विद्यालयमा आधारभूत शैक्षिक तथा भौतिक पूर्वाधार सञ्चालनयोग्य अवस्थामा रहेको हुनुपर्ने तथा मन्त्रालयले माग गरेका विवरण र कागजात तोकिएको ढाँचामा पेस गर्नुपर्नेछ।
यसैगरी, विगतमा मन्त्रालय वा अन्य निकायबाट यस्तै प्रकृतिको अनुदान प्राप्त गरी अझै फर्छ्योट हुन बाँकी रहेका विद्यालयले कार्यक्रममा सहभागी हुन नपाउने व्यवस्था गरिएको छ। छनोट भएपछि विद्यालयले मन्त्रालय वा सम्बन्धित निकायबाट हुने अनुगमन तथा मूल्यांकनमा आवश्यक सहयोग गर्नुपर्नेछ।
मन्त्रालयले कार्यक्रमको प्रभावकारी कार्यान्वयनमार्फत सामुदायिक विद्यालयका बालविकास कक्षालाई बालमैत्री र सिकाइमैत्री बनाउने तथा प्रारम्भिक तहका बालबालिकाका लागि आवश्यक शैक्षिक सामग्री र उपयुक्त कक्षाकोठाको व्यवस्था गर्ने लक्ष्य लिएको छ। आवेदन, विद्यालय छनोट तथा अनुदान कार्यान्वयनका क्रममा सूचनामा उल्लेखित मापदण्ड पालना गर्न मन्त्रालयले सम्बन्धित विद्यालयलाई आग्रह गरेको छ।


