काठमाडौँ- काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले विपद् आएपछि क्षतिपूर्ति खोज्नुभन्दा सम्भावित जोखिम न्यूनीकरण र रोकथामका लागि पूर्वतयारीमा लगानी बढाउनुपर्ने बताएकी छन्।
घरपझोङ गाउँपालिकाले नेपाल सरकार, प्रदेश तथा स्थानीय सरकार, सहयोगी निकाय र विज्ञहरूको सहभागितामा भदौ ३० र ३१ गते आयोजना गर्न लागेको घरपझोङ जलवायु परिवर्तन सम्मेलन, २०८३ को सफलताको शुभकामना दिँदै डंगोलले जलवायु परिवर्तनका असर कम गर्न समयमै विज्ञानसम्मत उपाय अपनाउनुपर्नेमा जोड दिएकी हुन्।
उनले जलवायु परिवर्तनका कारण विश्वभर प्राकृतिक विपद्, रोगव्याधी, तापक्रम वृद्धि, जैविक विविधतामा ह्रास तथा मानव जीवनशैलीमा समेत व्यापक परिवर्तन देखिन थालेको बताइन्।
‘विनाश भइसकेपछि क्षतिपूर्ति माग्नुभन्दा सम्भावित जोखिम न्यूनीकरणमा काम गर्नुपर्छ,’ डंगोलले भनेकी छन्, ‘वातावरण न्याय उपचारात्मक नभई वितरणात्मक न्यायमा केन्द्रित हुनुपर्छ।’
जलवायु परिवर्तनका कारण बाढी, पहिरो, भूक्षय, डुबान, खडेरी, अनावृष्टि, अतिवृष्टि तथा महामारीजस्ता विपद्को जोखिम बढ्दै गएको उल्लेख गर्दै उनले विपद् आउनुअघि नै पूर्वाधार तथा जोखिम न्यूनीकरणका क्षेत्रमा पर्याप्त लगानी गर्नुपर्ने बताइन्।
हालै भोटेकोशी नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिलाई समेत ध्यानमा राख्दै आगामी दिनमा सम्भावित विपद्बाट हुने क्षति कम गर्न पूर्वतयारी र रोकथामका कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ।
नेपालका हिमाल, पहाड, तराई, उपत्यका तथा बेँसी सबै क्षेत्र जलवायु परिवर्तनबाट प्रभावित रहेको उल्लेख गर्दै डंगोलले क्षेत्रअनुसार प्रभाव र कारण फरक भए पनि कुनै पनि भूभाग पूर्ण रूपमा सुरक्षित नरहेको बताइन्।
उनले जलवायु परिवर्तनका कारण प्रकृति, वनस्पति, जीवजन्तुको प्रणाली, जैविक विविधता, वासस्थान तथा सांस्कृतिक पर्यावरणमा समेत परिवर्तन आइरहेको बताउँदै यसको दीर्घकालीन समाधानका लागि जोखिम उत्पन्न भएपछि उपचार गर्नेभन्दा जोखिम उत्पन्न हुन नदिने उपायमा लगानी गर्नुपर्नेमा जोड दिइन्।
घरपझोङ जलवायु परिवर्तन सम्मेलनले जलवायु परिवर्तनका विविध पक्षमा गहन छलफल र विमर्श गर्ने विश्वास व्यक्त गर्दै डंगोलले सम्मेलन आयोजना गरेकोमा घरपझोङ गाउँपालिकालाई बधाई तथा धन्यवाद दिएकी छन्।
सम्मेलनमा भौतिक रूपमा उपस्थित भएर योगदान गर्ने इच्छा भए पनि केही प्राविधिक कारणले सहभागी हुन नसकेकोमा दुःख व्यक्त गर्दै उनले सम्मेलनको पूर्ण सफलताको शुभकामना दिएकी छन्।