काठमाडौँ- सरकारले आमालाई कम्तीमा ६ महिना र बुबालाई ४२ दिनसम्म तलबसहितको प्रसूति तथा स्याहार बिदा दिने व्यवस्था प्रस्ताव गरेको छ।
सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधनका लागि तयार गरिएको विधेयकमा यस्तो व्यवस्था प्रस्ताव गरिएको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले जानकारी दिएकी छन्।
उनका अनुसार विधेयक तयार भइसकेको छ भने मन्त्रिपरिषद्बाट पारित गराएर संसदमा पेस गर्ने तयारी भइरहेको छ। प्रस्तावित विधेयकमा आमालाई कम्तीमा ६ महिना तलबसहितको प्रसूति बिदा र बुबालाई ४२ दिनसम्म तलबसहितको प्रसूति स्याहार बिदा दिने व्यवस्था समेटिएको छ।
मन्त्री गौतमले बदलिँदो जीवनशैली, बढ्दो कामको चाप तथा परिवारमा सन्तानको संख्या घट्दै गएको अवस्थामा नवजात शिशु र परिवारसँग पर्याप्त समय बिताउन अभिभावकलाई अवसर दिनु राज्यको जिम्मेवारी भएको बताएकी छन्।
बच्चा जन्माउने प्रक्रिया आमासँग प्रत्यक्ष रूपमा जोडिए पनि बच्चा हुर्काउने जिम्मेवारी आमाको मात्र नभएको उनको भनाइ छ।
‘बच्चा जन्माउनु आमासँग जोडिएको प्राकृतिक प्रक्रिया हो, तर बच्चा हुर्काउनु आमाको मात्र जिम्मेवारी होइन,’ मन्त्री गौतमले भनेकी छन्।
प्रस्तावित व्यवस्था कार्यान्वयन भएमा नेपालमा सुरक्षित मातृत्वसँगै पितृत्व तथा संयुक्त अभिभावकत्वका विषयमा समेत नीतिगत परिवर्तन हुने अपेक्षा गरिएको छ।