काठमाडौँ- नबिल बैंकले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप कार्यक्रमको सातौँ समूह तथा नबिल एसएसई सर्टिफिकेट कोर्सको नयाँ समूहका लागि आवेदन खुला गरेको छ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गर्दै आएको दुवै कार्यक्रममा सहभागी हुन ३० भदौदेखि आवेदन खुला गरेको हो। इच्छुकले आगामी २६ असोजसम्म आवेदन दिन सक्नेछन्।
बैंकका अनुसार १८ वर्ष उमेर पूरा गरेका नवीन उद्यमशील सोच भएका नेपाली नागरिकले आवेदन दिन सक्नेछन्। छनोट भएका सहभागीले कार्यक्रममा कम्तीमा ९० प्रतिशत उपस्थिति कायम गर्नुपर्नेछ।
दिगो उद्यम तथा रोजगारी सिर्जना गर्दै समावेशी आर्थिक विकासमा योगदान पुर्याउने लक्ष्य राखेका महिला, युवा, गरिब, वञ्चित तथा सीमान्तकृत समुदायका उद्यमीलाई आवेदन दिन प्रोत्साहन गरिएको बैंकले जनाएको छ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले प्रतिबद्ध उद्यमी पहिचान गरी उनीहरूको क्षमता विकास तथा दिगो उद्यम निर्माणका लागि आवश्यक ज्ञान, सञ्जाल र उद्यमशीलता इकोसिस्टमसँग जोड्नु कार्यक्रमको उद्देश्य रहेको बताए।
१ हजार ५८० जनाले लिए तालिम
बैंकका अनुसार नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्समार्फत हालसम्म १ हजार ५८० जनाले तालिम लिएका छन्। तालिम लिएका सहभागीले ३१८ वटा उद्यम स्थापना गरी १९ हजार ३०३ जनाका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी तथा जीविकोपार्जनका अवसर सिर्जना गरेको बैंकको दाबी छ।
फेलोसिप कार्यक्रमका ६ समूहबाट हालसम्म ११३ जना प्रशिक्षित भएका छन्। उनीहरूमार्फत ९३ वटा फेलो–नेतृत्वका उद्यम सञ्चालनमा रहेको बैंकले जनाएको छ।
त्यस्तै, सर्टिफिकेट कोर्सबाट १ हजार ४६७ जना सहभागी लाभान्वित भएका छन् भने २२५ वटा उद्यम स्थापना भएको बैंकको भनाइ छ।
फेलोसिप ६ महिनाको
सन् २०२१ मा सुरु भएको नबिल एसएसई फेलोसिप त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायअन्तर्गतको स्कुल अफ म्यानेजमेन्टसँगको सहकार्यमा सञ्चालन हुँदै आएको छ।
६ महिनाको यस कार्यक्रमले आकांक्षी तथा विद्यमान उद्यमीलाई उद्यम विकास, सुदृढीकरण र विस्तारका लागि आवश्यक ज्ञान, सीप, स्रोत, सञ्जाल तथा वित्तीय पहुँचका अवसर उपलब्ध गराउने बैंकले जनाएको छ।
सर्टिफिकेट कोर्स तीन महिनाको
नबिल एसएसई सर्टिफिकेट कोर्स करिब तीन महिनाको व्यावहारिक उद्यमशीलता विकास कार्यक्रम हो। विद्यार्थी, आकांक्षी उद्यमी, प्रारम्भिक चरणका संस्थापक तथा सञ्चालनमा रहेका सूक्ष्म र साना उद्यमीलाई लक्षित गरिएको कार्यक्रममा व्यावसायिक अवसर पहिचान, व्यावसायिक अवधारणाको परीक्षण र व्यावहारिक व्यावसायिक मोडल निर्माणलगायत विषयमा प्रशिक्षण दिइनेछ।
यस वर्ष सर्टिफिकेट कोर्स देशभरका १० शैक्षिक साझेदार संस्थामार्फत सञ्चालन हुने बैंकले जनाएको छ।
कोशी प्रदेशमा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, मधेश प्रदेशमा वीरगञ्ज पब्लिक कलेज र मोनास्टिक सेकेन्डरी इंग्लिश बोर्डिङ स्कुल तथा बागमती प्रदेशमा क्याम्पियन कलेज र बूढानीलकण्ठ स्कुल साझेदार संस्थाका रूपमा रहेका छन्।
त्यस्तै, लुम्बिनी प्रदेशमा दिव्यज्योति बहुमुखी क्याम्पस, क्षितिज इन्टरनेसनल कलेज र कोहलपुर मोडल कलेज, कर्णाली प्रदेशमा सुर्खेत मोडल कलेज तथा सुदूरपश्चिम प्रदेशमा सुदूरपश्चिमाञ्चल एकेडेमीमार्फत कार्यक्रम सञ्चालन हुने बैंकले जनाएको छ।
कार्यक्रम र आवेदन प्रक्रियासम्बन्धी थप जानकारी नबिल बैंक, नबिल एसएसईका आधिकारिक सञ्चारमाध्यम तथा सम्बन्धित शैक्षिक साझेदार संस्थाबाट लिन सकिनेछ। आवेदन नबिल बैंकको आधिकारिक वेबसाइटमार्फत दिन सकिने बैंकले जनाएको छ।