काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान सरकार आफ्नो नीति र जनउत्तरदायित्वअनुसार पारदर्शी तथा नतिजामुखी ढंगले काम गरिरहेको बताएका छन्।
बुधबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले सरकार जनउत्तरदायित्वअनुसार काम गरिरहेको दाबी गरेका हुन्।
उनका अनुसार लोकतान्त्रिक पार्टी भएकाले आफ्नै सरकारका कामकारबाहीबारे पार्टीका नेता तथा सांसदबाट फरक–फरक धारणा वा आलोचनात्मक विचार आउनु स्वाभाविक हो।
रसुवामा आएको बाढीपछि प्रधानमन्त्रीले प्रभावित क्षेत्रका जनप्रतिनिधि, स्थानीय तहका प्रमुख तथा वडाध्यक्षसँग प्रत्यक्ष सम्पर्क र गहन छलफल गरेको उल्लेख गर्दै लामिछानेले प्रधानमन्त्रीले घटनाप्रति संवेदनशीलता देखाएको बताए।
पार्टीको जिम्मेवारी पार्टी नेतृत्वले र सरकारको जिम्मेवारी प्रधानमन्त्रीले सम्हाल्ने गरी स्पष्ट कार्यविभाजन गरिएको उनको भनाइ छ। त्यसैले एउटै व्यक्ति सबै ठाउँमा उपस्थित हुन आवश्यक नरहेको उनले बताए।
लामिछानेले सरकारले सुरुवाती चरणमै खोज तथा उद्धारलाई उच्च प्राथमिकता दिई युद्धस्तरमा काम गरेको दाबी गरे। भौगोलिक जटिलताका बाबजुद प्रभावित क्षेत्रमा राहत वितरण जारी रहेको उनले बताए।
अब दीर्घकालीन पुनर्निर्माण तथा पुनःस्थापनाका लागि सम्बन्धित मन्त्रालय, विभाग र प्राधिकरणहरू योजनासहित फिल्डमा खटिएको पनि लामिछानेले बताए।
सर्वदलीय बैठकबाट पारित विषयलाई सरकार वा राजनीतिक दलहरूले अपनत्व नलिने भन्ने प्रश्न नै नउठ्ने उनको भनाइ थियो।