काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज अमेरिका प्रस्थान गर्दै छन्। प्रधानमन्त्री शाहले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यु योर्कमा हुने महासभामा सहभागिता जनाउने परराष्ट्र मन्त्रालयले जनाएको छ।
प्रधानमन्त्री शाहले असोज ८ गते महासभालाई सम्बोधन गर्ने कार्यसूची रहेको छ। महासभामा सम्बोधन गरेपछि उनी सिधै नेपाल फर्किने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।
महासभामा प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण नेपालले भोग्दै आएको जोखिम तथा जनधनको क्षतिबारे विश्व समुदायको ध्यानाकर्षण गराउने तयारी छ। नेपालले विश्वव्यापी कार्बन उत्सर्जनमा नगन्य योगदान गरे पनि जलवायु परिवर्तनको असर भने ठूलो मात्रामा भोगिरहेको विषयलाई उनले अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्नेछन्।
परराष्ट्र सचिव अमृतबहादुर राईका अनुसार प्रधानमन्त्री शाहले हालै रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट भएको ठूलो क्षतिबारे पनि महासभामा जानकारी गराउनेछन्। बाढीबाट प्रभावित नेपाललाई तत्काल आवश्यक राहत तथा सहयोग उपलब्ध गराउन विश्व समुदायसँग आह्वान गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए।
नेपालले वातावरण संरक्षणमा पुर्याउँदै आएको योगदानलाई समेत प्रधानमन्त्री शाहले महासभामा प्रस्तुत गर्नेछन्। प्रकृतिमैत्री जीवनशैली, ४६ प्रतिशतभन्दा बढी वन क्षेत्र, विशाल हिमालय क्षेत्र तथा विस्तृत नदी प्रणालीमार्फत नेपालले विश्वको वातावरण संरक्षणमा पुर्याउँदै आएको योगदानबारे उनले जानकारी गराउनेछन्।
जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा परेको असर र त्यसबाट सिर्जित जोखिमका विषयमा समेत प्रधानमन्त्री शाहले अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने परराष्ट्र सचिव राईले बताए।
यसैबीच, संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनाल पनि अमेरिका प्रस्थान गरेका छन्। उनले महासभाअन्तर्गतका विभिन्न बैठकमा सहभागिता जनाउनुका साथै विभिन्न देशका समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।