काठमाडौँ- नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले प्रधानमन्त्रीका रूपमा संयुक्त राष्ट्रसंघको महासभामा नेपालको प्रतिनिधित्व गरेका थिए। त्यतिबेला संयुक्त राष्ट्रसंघको महासभामा सहभागी नेपाली प्रतिनिधिमण्डल निकै सानो थियो।
बीपी कोइरालाको नेतृत्वमा नेपालले संयुक्त राष्ट्रसंघको १५औँ महासभामा सहभागिता जनाएको थियो। त्यसबेला नेपाली प्रतिनिधिमण्डलमा प्रधानमन्त्री कोइरालासहित पाँच जना सदस्य थिए।
प्रतिनिधिमण्डलमा बीपी कोइरालासँगै विश्वबन्धु थापा, अच्युत रेग्मी, यदुनाथ खनाल र कुमारमणि आचार्य दीक्षित सहभागी थिए। थापा र रेग्मी सांसद थिए भने आचार्य दीक्षित प्रधानमन्त्रीका स्वकीय सचिवका रूपमा प्रतिनिधिमण्डलमा सहभागी भएका थिए। यदुनाथ खनाल परराष्ट्र मामिलाका जानकारका रूपमा प्रतिनिधिमण्डलमा थिए।
न्यु योर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालका प्रथम स्थायी प्रतिनिधि ऋषिकेश शाह पनि प्रतिनिधिमण्डलमा जोडिएपछि नेपाली टोलीको संख्या ६ पुगेको थियो।
प्रधानमन्त्री तहबाट संयुक्त राष्ट्रसंघको महासभामा नेपालको प्रतिनिधित्व भएको इतिहासमा बीपी नेतृत्वको उक्त प्रतिनिधिमण्डलको आकार निकै सानो थियो।
बीपीपछि बालेनको प्रतिनिधिमण्डलमा १५ जना
यसपटक भने प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका जाँदै छन्।
असोज ६ गते अमेरिका प्रस्थान गर्ने तयारीमा रहेका प्रधानमन्त्री शाहले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन्। यसपटक उनको नेतृत्वमा संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलमा १५ जना रहने भएका छन्।
यसरी हेर्दा बीपी कोइरालाको नेतृत्वमा १५औँ महासभामा सहभागी ६ सदस्यीय नेपाली टोली र अहिले प्रधानमन्त्री शाहको नेतृत्वमा ८१औँ महासभामा सहभागी हुने १५ सदस्यीय टोलीबीच प्रतिनिधिमण्डलको आकारमा उल्लेख्य अन्तर देखिन्छ।