काठमाडौँ- त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी हुँदा गम्भीर घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुने चालकको पहिचानसमेत खुलेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिलीप घिमिरेका अनुसार रिद्धिसिद्धि यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा त्रिपुरेश्वर बसस्टप नजिक आगलागी भएको थियो। आगलागीमा चालक गम्भीर घाइते भएका थिए।
घाइते चालकलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको एसएसपी घिमिरेले जानकारी दिए।
प्रहरीका अनुसार मृत्यु हुनेमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–सिस्नेरीका अर्जुन दोङ तामाङ हुन्।
विभिन्न घटनामा फरक–फरक नामको लाइसेन्स प्रयोग
प्रहरीको प्रारम्भिक अनुसन्धानले मृतक चालकले विभिन्न घटनामा अन्य व्यक्तिका नाममा जारी भएका सवारीचालक अनुमतिपत्र प्रयोग गरेको देखाएको छ।
प्रहरीका अनुसार २०८२ कात्तिकमा बालाजुमा बस पल्टिँदा तीन जना घाइते भएका थिए। उक्त घटनामा पनि अर्जुन दोङ तामाङ संलग्न रहेको र घटनापछि फरार भएको अनुसन्धानबाट खुलेको छ। सो घटनामा उनले सुनिल तामाङको नाममा जारी भएको सवारीचालक अनुमतिपत्र प्रयोग गरेको प्रहरीको भनाइ छ।
त्यसपछि करिब तीन महिनाअघि काठमाडौँको मूलपानी क्षेत्रमा ट्राफिक प्रहरीसँग अभद्र व्यवहार भएको अर्को घटनामा पनि उनी संलग्न रहेको प्रहरीले जनाएको छ। उक्त घटनामा उनले दाबा तामाङको नाममा जारी भएको सवारीचालक अनुमतिपत्र प्रयोग गरेको खुलेको छ।
त्रिपुरेश्वर घटनामा पनि अर्कै नामको लाइसेन्स
सोमबार त्रिपुरेश्वरमा भएको बस आगलागीको घटनामा पनि मृतक चालकले आफ्नै नामको नभई दाबा लामाको नाममा रहेको सवारीचालक अनुमतिपत्र प्रयोग गरेको प्रहरीले जनाएको छ।
यसरी अनुसन्धानका क्रममा फरक–फरक घटनामा मृतक चालकले फरक व्यक्तिका नाममा जारी भएका सवारीचालक अनुमतिपत्र प्रयोग गरेको खुलेको हो।
बैंक खाता र नागरिकतासमेत प्रयोग गरेको आशंका
प्रहरीका अनुसार अनुसन्धान अघि बढाउने क्रममा मृतक चालकले अन्य व्यक्तिको नाममा रहेको बैंक खाता तथा नागरिकतासमेत प्रयोग गरेको हुनसक्ने तथ्य फेला परेको छ।
विभिन्न घटनामा अन्य व्यक्तिका नाममा जारी भएका परिचयपत्र, सवारीचालक अनुमतिपत्र तथा अन्य कागजात प्रयोग गरेको विषयमा थप अनुसन्धान भइरहेको एसएसपी घिमिरेले बताए।
प्रहरीले मृतक चालकले ती कागजात कसरी प्राप्त गरे, कुन–कुन घटनामा प्रयोग गरे र त्यसमा अन्य व्यक्तिको संलग्नता थियो वा थिएन भन्ने विषयमा समेत अनुसन्धान गरिरहेको जनाएको छ।