काठमाडौँ- प्रतिनिधिसभाको मंगलबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रचना खतिवडा बोल्दाबोल्दै भावविह्वल भएकी छन्। जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रहेकी उनले छोराको मृत्युको घटनालाई न्यायको विषय बनाउँदै आफू संसदमा आएको बताइन्। संघीय संसद्को अभिलेखअनुसार खतिवडा काभ्रेपलाञ्चोकबाट रास्वपाकी समानुपातिक सांसद हुन्।
संसदमा बोल्दै खतिवडाले प्रतिनिधिसभामा उभिनु आफ्नो राजनीतिक रहर वा पदप्रतिको चाहना नभई न्याय खोज्ने यात्राको हिस्सा भएको बताइन्।
‘आज यो गरिमामय संसदमा उभिनु मेरो लागि कुनै राजनीतिक रहर या लालचको विषय थिएन। यो मेरो न्याय खोज्ने यात्रा थियो,’ उनले भनिन्।
उनले आफ्नै कोखबाट जन्माएर हुर्काएको छोराको ज्यान गएको घटनाले आफूलाई न्यायको खोजीमा संसदसम्म ल्याएको बताइन्।
‘छोराको न्यायका लागि संसदमा आएकी हुँ’
खतिवडाका अनुसार रास्वपाले आफूलाई खोज्दै घरदैलोमा पुगेको र प्रधानमन्त्रीको आग्रहपछि आफू सांसद बनेकी हुन्।
उनले जेन–जी आन्दोलनमा ज्यान गुमाएका अन्य व्यक्तिका परिवारको न्यायका लागि पनि सदनमा आवाज उठाउने उद्देश्य रहेको बताइन्।
‘अन्य तमाम जेन–जीहरूको बलिदानलाई खेर जान नदिन म सदनमा पुगेकी हुँ,’ उनले भनिन्, ‘देशमा यत्रो परिवर्तन आएपछि पनि सरकारले बाटो बिराउन खोज्छ भने सदनमा एउटा शहीदकी आमाले निरन्तर खबरदारी गरिरहनुपर्छ भनेर म यहाँ आएकी हुँ।’
रसिक खतिवडा जेन–जी आन्दोलनमा ज्यान गुमाएका व्यक्तिको सूचीमा समेत समावेश छन्।
‘न्याय पाएपछि सांसद पद छाड्न एक सेकेन्ड पनि लाग्दैन’

आफू सांसद बन्नुको उद्देश्यबारे विभिन्न टिप्पणी भएको भन्दै खतिवडाले त्यसप्रति असन्तुष्टि व्यक्त गरिन्।
उनले जेन–जी आन्दोलनका शहीदहरूले पूर्ण रूपमा न्याय पाएपछि आफू सांसद पदमा बसिरहन आवश्यक नठान्ने बताइन्।
‘जुन दिन जेन–जी आन्दोलनका शहीदहरूले पूर्ण रूपमा न्याय पाउँछन्, त्यो दिन यो सांसद पदबाट राजीनामा दिन मलाई एक सेकेन्ड पनि हिचकिचाहट हुनेछैन,’ उनले भनिन्।
आफ्नो छोराको मृत्युको पीडालाई लिएर आफूले पदसँग कुनै सम्झौता नगरेको बताउँदै उनले आफूविरुद्ध भएका टिप्पणीले थप पीडा दिएको उल्लेख गरिन्।

‘मेरो संसार उजाडिएको छ’
मन्तव्यका क्रममा खतिवडा पटक–पटक भावुक भएकी थिइन्। उनले छोराको मृत्युले आफ्नो संसार नै उजाडिएको बताउँदै न्यायको माग दोहोर्याइन्।
यसअघि पनि खतिवडाले प्रतिनिधिसभामा जेन–जी आन्दोलनका शहीद परिवार र घाइतेलाई न्याय दिन सरकार गम्भीर हुनुपर्ने धारणा राख्दै आएकी छन्।