काठमाडौं- अमेरिकी सञ्चारमाध्यम ‘द न्युयोर्क टाइम्स’ले नेपालका प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को कालो चस्मालाई समेत समाचारको विषय बनाएको छ।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन न्यूयोर्क पुगेका प्रधानमन्त्री शाहले औपचारिक कार्यक्रम तथा कूटनीतिक भेटघाटका क्रममा प्रायः कालो चस्मा लगाउने गरेको विषयलाई न्युयोर्क टाइम्सले उल्लेख गरेको छ। शाहले निजी भेटघाट तथा मन्त्रिपरिषद् बैठकमा भने चस्मा खोल्ने गरेको समाचारमा जनाइएको छ।
चस्मा लगाउनुको कारणबारे प्रधानमन्त्रीको टोलीसँग प्रतिक्रिया लिन खोज्दा कुनै जवाफ प्राप्त नभएको पनि समाचारमा उल्लेख गरिएको छ। पछिल्लो समय सामाजिक सञ्जाल तथा नेपाली बजारमा समेत ‘बालेन शाह ग्लासेस’ चर्चामा आएको प्रसंगलाई न्युयोर्क टाइम्सले समेटेको छ।
समाचारमा शाहको राजनीतिक उदयलाई समेत उल्लेख गर्दै उनी राजनीतिबाहिरबाट आएर काठमाडौं महानगरपालिकाको नेतृत्व हुँदै प्रधानमन्त्री बनेको प्रसंग प्रस्तुत गरिएको छ। गत वर्षको युवा आन्दोलनपछि स्थापित नयाँ राजनीतिक शक्तिको नेतृत्व गर्दै शाह प्रधानमन्त्री बनेको विषय पनि समाचारमा जोडिएको छ।
प्रधानमन्त्री शाहले कालो चस्मा लगाउने विषयमा नेपालभित्रसमेत चर्चा र आलोचना भएको प्रसंग समाचारमा उल्लेख छ। यसबारे प्रधानमन्त्री कार्यालयले भने चिकित्सकको सल्लाहअनुसार चस्मा लगाउने गरिएको बताएको समाचारमा जनाइएको छ।
तर, प्रधानमन्त्री शाहको संयुक्त राष्ट्रसंघको सम्बोधनका मुख्य विषय भने जलवायु न्याय, हिमाली मुलुकका समस्या, जलवायुजन्य विपद्बाट भएको क्षति तथा पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगसँग सम्बन्धित छन्। नेपालले बाढीपहिरोजस्ता जलवायुजन्य विपद्बाट प्रभावित मुलुकका लागि जलवायु वित्त, प्रविधि र दीर्घकालीन सहयोगको विषय उठाउने बताएको छ।
शाहले सेप्टेम्बर २४ मा संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरेका हुन्। यो प्रधानमन्त्रीका रूपमा उनको पहिलो विदेश भ्रमण हो।
यसरी अन्तर्राष्ट्रिय मञ्चमा नेपालका जलवायु संकट, हिमाली क्षेत्रको जोखिम र बाढीबाट भएको क्षतिका विषय उठिरहेका बेला न्युयोर्क टाइम्सको समाचारमा भने प्रधानमन्त्रीको पहिरन र कालो चस्माले समेत उल्लेखनीय स्थान पाएको छ।