काठमाडौं- लगातारको वर्षासँगै आएको बाढीपहिरोका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन्। काठमाडौं उपत्यका प्रवेश गर्ने प्रमुख राजमार्गहरूमा पहिरो खसेपछि यातायात प्रभावित भएको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौंको लाइफलाइन मानिने पृथ्वी राजमार्गसहित कान्ति लोकपथ, मुग्लिन–नागढुंगा तथा अन्य प्रमुख सडकखण्डमा यातायात अवरुद्ध भएको छ।
जिल्ला प्रशासन कार्यालय धादिङले शुक्रबार असोज ९ गते बिहान सूचना जारी गर्दै अर्को सूचना नभएसम्म पृथ्वी राजमार्गमा सवारीसाधन सञ्चालनमा रोक लगाएको छ। राजमार्गअन्तर्गत कृष्णभीरलगायत सात स्थानमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको जनाइएको छ।
यस्तै, जिल्ला प्रशासन कार्यालय चितवनले पनि शुक्रबार बिहान सूचना जारी गर्दै अर्को जानकारी नभएसम्म मुग्लिन–नारायणगढ सडकखण्ड बन्द रहने जनाएको छ।
बीपी राजमार्गसमेत पहिरोका कारण अवरुद्ध भएको छ। शुक्रबार बिहान करिब ४ः३० बजे रोशी गाउँपालिका–७ चारसयबेँसी र रोशी–८ गिम्दीमा पहिरो खसेपछि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।
अविरल वर्षाका कारण कान्ति लोकपथअन्तर्गत ललितपुरतर्फका विभिन्न तीन स्थानमा पहिरो खसेको छ। पहिरोका कारण उक्त सडकखण्डमा समेत यातायात सञ्चालन प्रभावित भएको छ।
वर्षा नरोकिएपछि सडकमा थप पहिरो तथा बाढीको जोखिम बढेको भन्दै प्रहरीले यात्रुलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ। अधिकांश प्रभावित सडकमा रात्रिकालीन सवारी सञ्चालनमा समेत रोक लगाइएको छ।
प्रमुख राजमार्गहरू नै अवरुद्ध भएपछि काठमाडौं उपत्यका भित्रिने तथा बाहिरिने यात्रु र मालवाहक सवारीसाधन प्रभावित भएका छन्। प्रहरीले सडकको अवस्था हेरेर मात्र यात्रा गर्न आग्रह गरेको छ।