सप्तरी– बुधबार रातिदेखि भइरहेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव तीव्र रूपमा बढेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार शुक्रबार बिहानदेखि नै कोशी नदीको जलसतह निरन्तर बढिरहेको छ। बिहान १० बजे गरिएको मापनमा ब्यारेजमा प्रतिसेकेन्ड १ लाख ९८ हजार २२० क्युसेक पानीको बहाव रहेको थियो। त्यसबेला २५ वटा ढोका खोलिएका थिए।
दिउँसो १ बजे पानीको बहाव बढेर प्रतिसेकेन्ड २ लाख २९ हजार ९६० क्युसेक पुगेपछि ३० वटा ढोका खोलिएको थियो।
त्यसको एक घण्टामै पानीको बहाव थप बढेर प्रतिसेकेन्ड २ लाख ४० हजार ५५५ क्युसेक पुगेपछि दिउँसो २ बजे थप एक ढोका खोलिएको हो। अहिले कोशी ब्यारेजका ३१ वटा ढोका खुला राखिएका छन्।
कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड १ लाख ५० हजार क्युसेक नाघेपछि सर्वसाधारणलाई जोखिमबारे सचेत गराउन पश्चिमतर्फ रातो बत्ती बाल्ने व्यवस्था छ।
जलसतह निरन्तर बढिरहेको भन्दै सप्तकोशी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। प्रहरीले जोखिमपूर्ण क्षेत्रमा नजान तथा नदी आसपास अनावश्यक आवतजावत नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।
त्यस्तै, तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ। नदीमा माछा मार्ने, दाउरा सङ्कलन गर्ने वा अन्य जोखिमपूर्ण गतिविधि नगर्नसमेत प्रशासनले सचेत गराएको छ।
वर्षा अझै जारी रहेकाले सप्तकोशीमा पानीको बहाव थप बढ्न सक्ने भन्दै सम्भावित जोखिमलाई ध्यानमा राखेर स्थानीय बासिन्दालाई पूर्वसतर्कता अपनाउन भनिएको छ।
कोशी ब्यारेजमा ५२ वटा मूल ढोका र चारवटा नहरका गरी जम्मा ५६ वटा ढोका रहेका छन्। पानीको बहावअनुसार आवश्यकताअनुसार ढोका खोल्ने र व्यवस्थापन गर्ने गरिएको छ।