काठमाडौँ- शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आगामी शैक्षिक सत्र २०८४ मा सार्वजनिक विद्यालयमा अध्ययनरत विपन्न विद्यार्थीका लागि उपलब्ध गराइने लक्षित छात्रवृत्तिको PMT (Proxy Mean Testing) फाराम भर्ने म्याद थप गरेको छ।
केन्द्रको समावेशी शिक्षा शाखाले सबै स्थानीय तहलाई पत्राचार गर्दै विद्यालयमार्फत PMT फाराम भर्ने अन्तिम म्याद २०८३ मंसिर १९ गतेसम्म थप गरिएको जानकारी गराएको हो। यसअघि तोकिएको समयभित्र फाराम भर्न नसकेका विद्यार्थीलाई लक्षित गर्दै म्याद थप गरिएको केन्द्रले जनाएको छ।
विपन्न लक्षित छात्रवृत्ति व्यवस्थापन मापदण्ड, २०८० को दफा ७ को उपदफा १ को खण्ड (क) बमोजिम चालु शैक्षिक सत्रमा कक्षा ५ र ८ मा अध्ययनरत विद्यार्थीबाट अनुसूची–१ अनुसारको PMT फाराम भराउनुपर्ने व्यवस्था गरिएको छ। यही विवरणका आधारमा आगामी शैक्षिक सत्रमा कक्षा ६ र ९ मा अध्ययनरत हुने विद्यार्थीलाई लक्षित छात्रवृत्ति उपलब्ध गराइनेछ।
केन्द्रका अनुसार सम्बन्धित विद्यालयले शिक्षा विभागको वेबसाइटबाट PMT फाराम डाउनलोड गरी विद्यार्थी वा अभिभावकलाई उपलब्ध गराउनुपर्नेछ। विद्यार्थीले फाराममा माग गरिएका विवरण सत्यसाँचो रूपमा भरी अभिभावकबाट प्रमाणित गराएर प्रधानाध्यापकसमक्ष पेस गर्नुपर्नेछ।
विद्यालयमा प्राप्त फाराम प्रधानाध्यापकले रुजु गरी सहीछाप गरेपछि सम्बन्धित स्थानीय तहमा प्रमाणीकरणका लागि पठाउनुपर्ने व्यवस्था गरिएको छ। स्थानीय तहबाट प्रमाणीकरण भई प्राप्त भएका फारामको सम्पूर्ण विवरण विद्यालयले EMIS प्रणालीमा प्रविष्ट गर्नुपर्नेछ।
EMIS प्रणालीमा PMT विवरण प्रविष्ट गर्दा ड्यासबोर्डमा रहेको PMT मेनु छनोट गरी चालु शैक्षिक सत्रमा विद्यार्थी अध्ययनरत कक्षा ५ वा ८ छनोट गर्न केन्द्रले निर्देशन दिएको छ। त्यसपछि विद्यार्थीको नामको दायाँतर्फ रहेको ‘Action’ विकल्पमा गई प्रमाणित PMT फाराममा उल्लेख भएका विवरण प्रविष्ट गर्नुपर्नेछ।
PMT फारामको विवरण EMIS प्रणालीमा प्रविष्ट गरिसकेपछि प्रमाणित फाराम तथा त्यसको अभिलेख विद्यालयले सुरक्षित रूपमा राख्नुपर्ने केन्द्रले जनाएको छ। भविष्यमा छात्रवृत्ति वितरण तथा विवरण प्रमाणीकरणका क्रममा आवश्यक पर्ने भएकाले अभिलेख सुरक्षित राख्न विद्यालयलाई निर्देशन दिइएको हो।
केन्द्रले PMT फाराम भर्ने तथा विवरण प्रविष्ट गर्ने कार्यमा सहजीकरण गर्न सबै प्रदेशका शिक्षा विकास निर्देशनालय, शिक्षा विकास तथा समन्वय एकाइ तथा सम्बन्धित सामुदायिक विद्यालयलाई आग्रह गरेको छ।
म्याद थप भएसँगै सार्वजनिक विद्यालयमा अध्ययनरत विपन्न विद्यार्थी तथा उनीहरूका अभिभावकले सम्बन्धित विद्यालयमार्फत तोकिएको समयभित्र PMT फाराम भरी आवश्यक प्रक्रिया पूरा गर्नुपर्नेछ।
