टर्की- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले टर्कीका विद्यालयमा अपनाइएका बालमैत्री, प्रकृतिमैत्री तथा प्रयोगात्मक सिकाइका अभ्यासबारे स्थलगत अवलोकन गर्नुभएको छ।
संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी हुन टर्कीको एन्टाल्या पुग्नुभएका मन्त्री पोखरेलले सम्मेलनका औपचारिक कार्यक्रमसँगै त्यहाँको विद्यालय शिक्षा र हरित विद्यालयको अभ्यासबारे जानकारी लिनुभएको हो।
टर्कीका राष्ट्रिय शिक्षामन्त्री युसुफ तेकिनले नेपाली समकक्षी पोखरेललाई एन्टाल्याको मुरातपासा जिल्लास्थित ‘१५ जुलाई सहिद बालविकास केन्द्र’ (किन्डरगार्टन) को अवलोकन गराउनुभएको थियो। भ्रमणमा दुवै देशका शिक्षामन्त्रीसँगै टर्कीको सत्तारुढ एके पार्टीका प्रान्तीय अध्यक्ष अली चेतिन, प्रान्तीय शिक्षा निर्देशक मेहमेत यासिन एरिस तथा युनेस्को र ओईसीडीका प्रतिनिधिहरूको समेत सहभागिता थियो।
अवलोकनका क्रममा मन्त्री पोखरेलले बालबालिकालाई सानै उमेरदेखि प्रकृति, वातावरण संरक्षण र दिगो विकाससँग जोड्ने शैक्षिक अभ्यासबारे विशेष चासो राख्नुभएको थियो। उहाँले विद्यालयमा सञ्चालित कार्यशाला, बिरुवा उत्पादन क्षेत्र तथा बालबालिकाले तयार पारेका वातावरण संरक्षणसम्बन्धी परियोजनाको निरीक्षण गर्नुभयो।

विद्यालयमा बालबालिकाले अभ्यास गरिरहेको ‘शून्य फोहोर’ अवधारणा, पुनः प्रयोग तथा मिनी ग्रीनहाउसमा गोलभेँडा लगायतका तरकारी र बिरुवा उत्पादन गर्ने प्रयोगात्मक सिकाइबारे मन्त्री पोखरेलले शिक्षक तथा विद्यालय प्रशासनसँग जानकारी लिनुभएको थियो।
भ्रमणका क्रममा दुवै देशका शिक्षामन्त्रीले शिक्षक तथा अभिभावकसँग अन्तरक्रिया गर्दै पूर्वप्राथमिक र सामुदायिक विद्यालय सञ्चालनका अनुभव, शैक्षिक पूर्वाधारको आवश्यकता तथा विद्यालय र अभिभावकबीचको सहकार्यबारे छलफल गर्नुभएको थियो।
सो अवसरमा बालविकास केन्द्रका विद्यार्थीहरूले परम्परागत टर्किस लोकनृत्य प्रस्तुत गरी अतिथिहरूको स्वागत गरेका थिए। मन्त्रीद्वयले बालबालिकाको सिर्जनशीलता र वातावरणमैत्री गतिविधिको प्रशंसा गर्दै उनीहरूसँग अन्तरक्रियासमेत गर्नुभएको थियो।
अवलोकनपछि मन्त्री पोखरेलले बालबालिकामा सानै उमेरदेखि प्रकृतिप्रतिको प्रेम, शून्य फोहोरको संस्कार र जलवायु परिवर्तनसम्बन्धी चेतना विकास गर्न सके भविष्यको पुस्तालाई वातावरणमैत्री तथा विपद् उत्थानशील बनाउन सकिने धारणा राख्नुभएको छ।
नेपालको विद्यालय शिक्षालाई पनि किताबी ज्ञानमा मात्र सीमित नराखी प्रकृति, व्यवहार र स्थानीय परिवेशसँग जोड्नुपर्ने उहाँको भनाइ छ। यसका लागि टर्कीको हरित विद्यालय तथा प्रयोगात्मक सिकाइको अभ्यासबाट नेपालले उपयोगी अनुभव हासिल गर्न सक्ने उहाँले बताउनुभएको छ।
नेपालमा विद्यालयका भौतिक पूर्वाधारको वैज्ञानिक मूल्याङ्कन गर्ने तथा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन गरी जलवायु परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी विषयलाई विद्यालय तहको पाठ्यक्रममा समेट्ने प्रक्रिया अघि बढाइएको छ।
टर्कीका शिक्षामन्त्रीसँगको भेटघाट, विद्यालय अवलोकन र अनुभव आदानप्रदानले नेपालको विद्यालय शिक्षा सुधार, बालमैत्री सिकाइ वातावरण निर्माण तथा हरित विद्यालय अवधारणाको विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।