काठमाडाैँ - काठमाडौँ त्रिपुरेश्वरमा अवस्थित विश्व निकेतन माध्यमिक विद्यालयमा विज्ञान, व्यस्थापन, मानविकी, कानुन, शिक्षा तर्फका विषय अध्यापन हुन्छ। यस विद्यालयमा कक्षा ११ र १२ मा २०८१ सालमा २ हजार ५ सय २ जना, २०८० सालमा २ हजार ६ सय १८ जना र २०७९ मा २ हजार ३ सय ४८ जना विद्यार्थी अध्ययन गरेका थिए। राष्ट्रिय परीक्षा बोर्डले लिएको परीक्षामा विश्व निकेतनले २०८० सालमा ९६.२३ प्रतिशत ,२०७९ मा ९६ प्रतिशत र २०७८ सालमा ९४.२ प्रतिशत नतिजा ल्याउन सफल भएको थियो।
यस विद्यालयमा कार्यरत शिक्षक कर्मचारीको संख्या १५७ जना रहेको छ। यस विद्यालय १० रोपनि क्षेत्रफलमा २ वटा भवनमा अवस्थित छ।विश्व निकेतनमा विज्ञान तथा सूचना प्रविधि प्रयोगशाला उपलब्ध हुनुको साथै प्रविधि मैत्री कक्षा कोठा, पुस्तकालय, चमेना गृह र यातायात लगायतको सुविधा रहेको छ। विश्वनिकेतनले कक्षाकोठा व्यवस्थापन, आईसिटी, तेकवान्दो, फुटसल, एकिकृत पाठ्क्रम तालिम, मनोपरामर्श तथा करियर काउन्सिलिङ सम्बन्धी तालिम सञ्चालन गर्दै आएको छ।विश्वनिकेतनले कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूलाई निःशुल्क शिक्षा, कक्षा ११ र १२ मा आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई निःशुल्क शिक्षा, वास्तविक योग्य विद्यार्थीहरूलाई शैक्षिक उत्कृष्टताको लागि छात्रवृत्ति प्रदान गर्दै आएको छ।
विश्व निकेतनका विद्यार्थीले राष्ट्रिय परीक्षा बोर्डले लिएको कक्षा १०को परीक्षामा प्रत्येक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल हुने गरेका छन्। जसमा २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा विश्वनिकेतनमा अध्ययनरत ५ जना विद्यार्थीले ४ जीपीए ल्याउन सफल भएका थिए। त्यस्तै १५ जनाले एमबीबीएस र ४३ जनाले ईन्जिनियरिङ अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्राप्त गर्न सफल भएका छन्।
यस विद्यालयले नगद सहित क्षेत्रिय शिक्षा पुरस्कार, २ लाख रुपैयाँ नगद सहित राष्ट्रिय शिक्षा पुरस्कार, २०८० सालको राष्ट्रपति रनिङशिल विजेता, तेक्वान्दो च्याम्पियनसिपको विजेता, अन्तरविद्यालय बक्सिङ्ग प्रतियोगितामा ११ स्वर्ण सहित प्रथम स्थान हुनुको साथै थुप्रै पुरस्कार जित्न सफल भएको छ। ९० प्रतिशत शिक्षक कर्मचारीको छोराछोरी यसै विद्यालयमा पठनपाठन र जीवनोपयोगी शिक्षामा विशेष जोड दिनु यस विद्यालयको फरक विशेषता हो।
न्यून शुल्कमा पठनपाठन, छात्रावृत्तिको व्यवस्था, स्तरीय पठनपाठन, अनुशासित वातावरण, दक्ष तथा अनुभवि विषयगत शिक्षक, सर्वाेत्कृष्ट नतिजा, व्यवस्थित भौतिक शैक्षिक पूर्वाधारका कारण विद्यार्थी र अभिभावकले यस विद्यालयलाई रोज्नुपर्ने विद्यालयका प्रधानाध्यापक हेरम्बराज कडेलले जानकारी दिए।