पोखरा - पोखरा विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले २२औँ दीक्षान्त समारोहमा सहभागी हुन योग्य विद्यार्थीका लागि अनलाइन आवेदन खुला गरेको छ।
विश्वविद्यालयले स्नातक, स्नातकोत्तर, एमफिल तथा विद्यावारिधि तह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट प्राप्त गरेका विद्यार्थीलाई दीक्षान्त समारोहमा सहभागी हुन अनलाइनमार्फत आवेदन दिन आह्वान गरेको हो।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार आवेदन मंसिर ५ गतेदेखि पुस ५ गतेसम्म दिन सकिनेछ। इच्छुक विद्यार्थीले तोकिएको अवधिभित्र आफूलाई अनुकूल समयमा अनलाइन फाराम भर्न सक्नेछन्।
दीक्षान्त समारोहमा सहभागी हुन २०८२ साल माघ २४ गतेपछि ट्रान्सक्रिप्ट जारी भएका विद्यार्थी मात्र योग्य हुने विश्वविद्यालयले जनाएको छ। साथै, २०८३ साल मंसिर २९ गतेसम्म ट्रान्सक्रिप्ट प्राप्त गरिसकेको वा ट्रान्सक्रिप्टका लागि आवेदन गरिसकेको हुनुपर्नेछ।
आवेदन फाराम भर्दा विद्यार्थीले आफ्नो नाम नेपाली र अंग्रेजी दुवै भाषामा नागरिकतामा उल्लेख भएअनुसार राख्नुपर्नेछ। फारामसँगै पासपोर्ट साइजको फोटो, नागरिकताको प्रमाणपत्र र ट्रान्सक्रिप्टको रङ्गीन प्रतिलिपि अनिवार्य रूपमा अपलोड गर्नुपर्नेछ।
दीक्षान्त समारोहमा सहभागी हुन विद्यार्थीले दीक्षान्त प्रमाणपत्र शुल्कबापत ५ हजार रुपैयाँ र दीक्षान्त पोशाक धरौटीबापत २ हजार ५०० रुपैयाँ गरी कुल ७ हजार ५०० रुपैयाँ अनलाइन माध्यमबाट भुक्तानी गर्नुपर्नेछ।
कार्यालयका अनुसार पोशाक धरौटी रकममध्ये ३०० रुपैयाँ मर्मत शुल्कबापत कट्टा गरिनेछ। बाँकी धरौटी रकम फिर्ता लिन विद्यार्थीले आफ्नै नामको बैंक खाताको विवरण उपलब्ध गराउनुपर्नेछ। बैंक खातावालाको नाम, खाता नम्बर र बैंकको नाम आधिकारिक विवरणसँग मिल्ने गरी उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ।
दीक्षान्त समारोहको मिति, समय र स्थान तथा दीक्षान्त पोशाक वितरण र फिर्तासम्बन्धी विस्तृत जानकारी पछि विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयको वेबसाइटमार्फत सार्वजनिक गरिने विश्वविद्यालयले जनाएको छ।
दीक्षान्त समारोहमा सहभागी हुन इच्छुक योग्य विद्यार्थीले विश्वविद्यालयको आधिकारिक अनलाइन पोर्टल exam.pu.edu.np मा गई तोकिएको समयभित्र आवेदन दिन सक्नेछन्।