काठमाडौँ- नयाँ शैक्षिक सत्र सुरुहुनु अगाबै कर्णाली प्रदेशका दुर्गम हिमाली जिल्ला हुम्ला र डोल्पामा पाठ्यपुस्तक वितरण सुरु भएको छ।जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक प्रेस नेपालगन्जले प्रादेशिक प्रेस नेपालगन्जका प्रमुख रुद्र खनालका अनुसार चैत १६ गते सोमबारदेखि हुम्ला र डोल्पामा पुस्तक वितरण सुरु गरिएको हो।
उनले नयाँ शैक्षिक सत्रका लागि आवश्यक पाठ्यपुस्तक कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा वितरण गर्न नेपालगन्जस्थित गोदाममा पर्याप्त मौज्दात पुगेको पनि बताए। लुम्बिनी र कर्णालीका जिल्लाका लागि आवश्यक पाठ्यपुस्तक नेपालगन्ज गोदाममा आइसकेको छ।
हाल करिब ८५ प्रतिशत पुस्तक मौज्दातमै छ, प्रमुख खनालले भने, “प्राथमिकताका आधारमा हिमाल, पहाड र तराईका जिल्लामा क्रमशः वितरण गरिरहेका छौँ। हुम्ला र डोल्पाका केही बिक्रेताले आवश्यक पुस्तक लगिसकेका छन्।जिल्लागत रूपमा वितरणलाई व्यवस्थित बनाउन समयतालिका समेत तय गरिएको छ । सो अनुसार चैत १६ गते हुम्ला र डोल्पा, १७ गते रुकुम पूर्व, १८ र १९ गते रुकुम पश्चिम, २० र २१ गते रोल्पा, २२ गते जाजरकोट, २३ र २४ गते सल्यान, २५ र २६ गते दाङ, २७ र २८ गते बर्दिया तथा २९ र ३० गते बाँके जिल्लामा पुस्तक वितरण गरिनेछ।
प्रमुख खनालका अनुसार पहिलो चरणमा चैत १६ देखि ३० गतेसम्म वितरण गरिनेछ भने दोस्रो चरणमा वैशाख १ देखि १५ गतेसम्म छुटेका बिक्रेतालाई पुस्तक उपलब्ध गराइनेछ। विद्यार्थीले विद्यालय खुलेकै पहिलो दिन सबै पाठ्यपुस्तक पाउने सुनिश्चितताका लागि सेटमै वितरण गर्ने व्यवस्था मिलाइएको छ,उनले भने।नेपालगन्ज कार्यालयमार्फत कर्णालीका हुम्ला, डोल्पा, रुकुम पश्चिम, जाजरकोट र सल्यान तथा लुम्बिनी प्रदेशका रुकुम पूर्व, रोल्पा, दाङ, बर्दिया र बाँके गरी १० जिल्लामा पाठ्यपुस्तक वितरण हुँदै आएको छ।