काठमाडौँ- त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले चार विदेशी विश्वविद्यालयबाट प्राप्त उपाधिको यसअघि प्रदान गरिएको समकक्षता प्रमाणपत्र रद्द गरेको छ।
केन्द्रले सार्वजनिक सूचना जारी गर्दै छानबिन समितिको सिफारिसका आधारमा भारतको सीएमजे विश्वविद्यालय, जोराबाट, टेक्नो ग्लोबल विश्वविद्यालय, शिलङ, मणिपुरको साङ्गाई अन्तर्राष्ट्रिय विश्वविद्यालय तथा भारतको झारखण्डस्थित प्रज्ञान अन्तर्राष्ट्रिय विश्वविद्यालय बाट प्राप्त उपाधिको समकक्षता प्रमाणपत्र रद्द गरिएको जनाएको हो।
सूचनाअनुसार ती विश्वविद्यालयबाट प्राप्त उपाधिलाई यसअघि समकक्षता प्रदान गरिएको भए पनि छानबिनका क्रममा समकक्षता कायम रहनुपर्ने आधार नदेखिएको ठहर गरिएको थियो। त्यसपछि ३५ दिनको सार्वजनिक सूचना प्रकाशित गरी सम्बन्धित व्यक्तिलाई आवश्यक प्रमाण तथा आधार पेश गर्न आग्रह गरिएको थियो।
तर तोकिएको अवधिभित्र पर्याप्त आधार र प्रमाण पेश हुन नसकेपछि त्रिभुवन विश्वविद्यालय उपाधि मान्यता तथा समकक्षता सम्बन्धी विनियम, २०८२ को विनियम २१ बमोजिम सम्बन्धित व्यक्तिहरूलाई प्रदान गरिएका समकक्षता प्रमाणपत्र रद्द गरिएको केन्द्रले जनाएको छ।
पाठ्यक्रम विकास केन्द्रले सार्वजनिक गरेको विवरणअनुसार सीएमजे विश्वविद्यालय, जोराबाटबाट विभिन्न विषयमा स्नातक, स्नातक तहका प्राविधिक उपाधि तथा विद्यावारिधि (पीएचडी) हासिल गरेका ११ जनाको समकक्षता प्रमाणपत्र रद्द गरिएको छ। यसमा वाणिज्य, कला, सिभिल इन्जिनियरिङ, फिजियोथेरापी, कानुन, कम्प्युटर अनुप्रयोग, क्लिनिकल बायोकेमिस्ट्री, व्यवस्थापन, क्लिनिकल माइक्रोबायोलोजी तथा राजनीतिशास्त्र विषयका उपाधि समावेश छन्।
केन्द्रले अन्य तीन विदेशी विश्वविद्यालयबाट प्राप्त उपाधिको समकक्षता प्रमाणपत्र रद्द गरिएका व्यक्तिहरूको विवरण पनि छुट्टाछुट्टै सूचनामार्फत सार्वजनिक गरेको जनाएको छ। साथै उक्त निर्णय तत्काल कार्यान्वयनमा आएको जानकारी दिएको छ।

.jfif)


