काठमाडौँ- त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन संकाय डिनको कार्यालयले स्नातक, स्नातकोत्तर तथा एमफिल तहका विभिन्न परीक्षामा सहभागी हुने विद्यार्थीका लागि नयाँ परीक्षा आचारसंहिता तथा निर्देशन जारी गरेको छ। गत ८ साउनमा एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र बाहिरिएको घटनापछि परीक्षा प्रणालीलाई थप मर्यादित, व्यवस्थित र निष्पक्ष बनाउन डिनको कार्यालयले कडा परीक्षा आचारसंहिता लागू गरेको जनाएको छ।
डिनको कार्यालयद्वारा जारी सूचनाअनुसार अब परीक्षामा सहभागी हुने सबै विद्यार्थीले तोकिएका नियम तथा निर्देशिकाको अनिवार्य रूपमा पालना गर्नुपर्नेछ। नियम उल्लंघन गर्ने विद्यार्थीमाथि विश्वविद्यालयको परीक्षा नियमावलीअनुसार आवश्यक कारबाही गरिने चेतावनी पनि दिइएको छ। नयाँ व्यवस्थाअनुसार प्रत्येक परीक्षार्थीले परीक्षा नियन्त्रण महाशाखाबाट जारी गरिएको आधिकारिक प्रवेशपत्र प्रत्येक दिन परीक्षा केन्द्रमा अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछ। साथै, परीक्षा केन्द्रले निर्धारण गरेको रोल नम्बरअनुसारको सिटमा बसेर मात्र परीक्षा दिन पाइनेछ।
त्यसैगरी, परीक्षा अवधिभर केन्द्राध्यक्ष वा निरीक्षकको अनुमति बिना आफ्नो सिट वा परीक्षा भवन छोड्न नपाइने व्यवस्था गरिएको छ। परीक्षा सुरु भएको पहिलो एक घण्टासम्म कुनै पनि परीक्षार्थीलाई परीक्षा भवनबाट बाहिर निस्कन अनुमति दिइने छैन। डिनको कार्यालयले मोबाइल फोन, स्मार्ट वाचलगायत सबै प्रकारका इलेक्ट्रोनिक उपकरण, चिट, पुस्तक तथा अन्य निषेधित सामग्री परीक्षा भवनभित्र लैजान पूर्ण प्रतिबन्ध लगाएको छ। यस्ता सामग्री फेला परेमा परीक्षा नियमावलीअनुसार कारबाही गरिने जनाइएको छ।
यस्तै, अरूको नक्कल गर्ने, नक्कल गर्न सहयोग गर्ने, अरूको सट्टा परीक्षा दिने, परीक्षा सञ्चालनमा अवरोध सिर्जना गर्ने वा परीक्षा कर्मचारीप्रति अभद्र व्यवहार गर्ने जस्ता गतिविधिलाई पनि कडाइका साथ निषेध गरिएको छ।
त्रिविले परीक्षा नियम तथा आचारसंहिताको उल्लंघन गरेको पाइएमा सम्बन्धित परीक्षार्थीको परीक्षा रद्द गर्ने, निश्चित अवधिसम्म परीक्षामा सहभागी हुन रोक लगाउने तथा आवश्यक परे कानुनी कारबाहीसमेत गरिने स्पष्ट गरेको छ।
