काठमाडौँ- काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि गठित सिफारिस समितिले १० जना उम्मेदवारको सर्टलिस्ट सार्वजनिक गर्दै छनोट प्रक्रियालाई अघि बढाएको छ। 'काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८३' बमोजिम प्राप्त आवेदनहरूको मूल्याङ्कनपछि समितिले दयाराम पोखरेल, निरञ्जन पराजुली, बालचन्द्र लुइँटेल, विकास नकर्मी, विमप्रसाद श्रेष्ठ, राजेन्द्र जोशी, विवेक बराल, शेषानन्द सञ्जेल, सुबोध शर्मा र हरिप्रसाद न्यौपानेलाई अन्तिम सर्टलिस्टमा समावेश गरेको हो।
समितिका अनुसार सर्टलिस्टमा परेका उम्मेदवारहरूको प्रस्तुतीकरण तथा अन्तर्वार्ता साउन २२ गते शिक्षा तथा खेलकुद मन्त्रालय, सिंहदरबारमा सञ्चालन हुनेछ। पहिलो चरणमा सूचीकृत पाँच जना उम्मेदवारले बिहान ८ बजेदेखि प्रस्तुतीकरण गर्नेछन् भने बाँकी पाँच जनाको प्रस्तुतीकरण तथा अन्तर्वार्ता दिउँसो १ बजेदेखि सुरु हुनेछ। प्रत्येक उम्मेदवारलाई आफ्नो कार्ययोजना तथा दृष्टिकोण प्रस्तुत गर्न १५ मिनेटको समय उपलब्ध गराइनेछ। त्यसपछि सिफारिस समितिले अन्तर्वार्ता लिने कार्यक्रम रहेको छ।
यसैबीच, सिफारिस समितिले सर्टलिस्टमा परेका उम्मेदवारबारे कुनै राय, सुझाव वा प्रतिक्रिया भए साउन २० गतेभित्र उपलब्ध गराउन सम्बन्धित सबै पक्षसँग आग्रह गरेको छ। उपकुलपति छनोट प्रक्रिया पारदर्शी, प्रतिस्पर्धात्मक र योग्यता–आधारित बनाउन कार्यविधिअनुसार प्रस्तुतीकरण, अन्तर्वार्ता तथा सार्वजनिक सुझाव संकलनको व्यवस्था गरिएको समितिले जनाएको छ।
