काठमाडौँ- वीरगन्जस्थित नेशनल मेडिकल कलेजका आन्दोलनरत रेजिडेन्ट डाक्टरहरू माग सम्बोधन गर्ने सहमतिपछि अध्ययन तथा काममा फर्किन तयार भएका छन्। कलेज व्यवस्थापनले विद्यार्थीका समस्या समाधान गर्दै शैक्षिक वातावरण सुधार गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलन स्थगित गर्ने समझदारी बनेको हो।
शिक्षा तथा खेलकुद मन्त्रालयको समन्वयमा मंगलबार सिंहदरबारमा भएको छलफलमा कलेज व्यवस्थापन, विद्यार्थी प्रतिनिधि तथा सम्बन्धित निकायका पदाधिकारीबीच सहमति जुटेको हो।
सहमतिअनुसार कलेजमै अध्ययनलाई निरन्तरता दिन चाहने रेजिडेन्ट डाक्टरहरूका लागि आवश्यक शैक्षिक वातावरण तयार गरिनेछ। त्यस्तै, कलेज छाडेर अन्यत्र जान चाहने विद्यार्थीलाई प्रचलित नियमअनुसार रेजिडेन्टबापतको रकम फिर्ता गरिने सहमति भएको छ।
समझदारीलाई आवश्यकताअनुसार लिखित सम्झौतामार्फत औपचारिकता दिने निर्णयसमेत भएको छ। सहमतिपछि रेजिडेन्ट डाक्टरहरूले अध्ययन तथा काममा फर्किने प्रतिबद्धता जनाएका छन्।
यसअघि कलेज व्यवस्थापनबाट अनावश्यक मानसिक दबाब र दुर्व्यवहार खेप्नुपरेको तथा अध्ययन र कामका लागि अनुकूल वातावरण नरहेको आरोप लगाउँदै विद्यार्थीहरू आन्दोलनमा उत्रिएका थिए। विशेषगरी पहिलो वर्षमा अध्ययनरत रेजिडेन्ट डाक्टरहरूले आफूहरूले भोग्नुपरेका समस्याबारे मन्त्रालयको ध्यानाकर्षण गराउँदै सुरक्षित, मर्यादित र शान्तिपूर्ण शैक्षिक वातावरणको माग गरेका थिए।
छलफलमा शिक्षामन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झा, मन्त्रालयका उच्च अधिकारी, चिकित्सा शिक्षा आयोगका पदाधिकारी, त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) का डीन, कलेज सञ्चालक तथा विद्यार्थी प्रतिनिधिहरू सहभागी थिए।
छलफलपछि शिक्षामन्त्रीका प्रमुख सल्लाहकार झाले विद्यार्थीका समस्यालाई मन्त्रालयले गम्भीरतापूर्वक लिएको बताए। विगतमा भएका कमीकमजोरी सुधार गर्दै शैक्षिक वातावरण निर्माण गर्न कलेज व्यवस्थापन र विद्यार्थी दुवै पक्ष जिम्मेवार हुनुपर्ने उनको भनाइ थियो।
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. देवेन्द्रबहादुर खत्रीले छलफलले दुवै पक्षबीच समझदारीको वातावरण बनाएको बताए। उनले विद्यार्थीलाई अध्ययनमा फर्किन र कलेज व्यवस्थापनलाई आफ्नो प्रतिबद्धताअनुसार शैक्षिक वातावरण सुनिश्चित गर्न आग्रह गरे।
त्यस्तै, आईओएमका डीन प्रा.डा. मोहनराज शर्माले सहमति कार्यान्वयनको अवस्थाबारे शिक्षा मन्त्रालय, चिकित्सा शिक्षा आयोग र आईओएमले चरणबद्ध रूपमा अनुगमन गर्ने जानकारी दिए। कलेजले वातावरण सुधार गर्ने र विद्यार्थीले अध्ययनलाई निरन्तरता दिने विश्वास पनि उनले व्यक्त गरे।
कलेजका अध्यक्ष प्रा.डा. जैनउद्दीन अन्सारीले विद्यार्थीका माग र चाहनाअनुसार शैक्षिक वातावरण सुधार गर्न व्यवस्थापन तयार रहेको प्रतिबद्धता जनाएका छन्।
सहमति बनेसँगै नेशनल मेडिकल कलेजमा देखिएको शैक्षिक तथा व्यवस्थापकीय विवाद समाधानतर्फ अघि बढेको छ। अब कलेज व्यवस्थापनले गरेका प्रतिबद्धता कति प्रभावकारी रूपमा कार्यान्वयन गर्छन् भन्ने विषयले विद्यार्थीको अध्ययन र कार्य वातावरण सुधारको अवस्था निर्धारण गर्नेछ।