काठमाडौँ- चिकित्सा शिक्षा क्षेत्रमा सिट निर्धारण र शिक्षण शुल्क पुनरवलोकनको विषयलाई लिएर पुनः विवाद चुलिएको छ। निजी मेडिकल तथा डेन्टल कलेजहरूको छाता संगठन एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालले सिट निर्धारण प्रक्रिया पारदर्शी नभएको र कानुनी व्यवस्थाअनुसार शिक्षण शुल्क पुनरवलोकन नगरिएको भन्दै नयाँ विद्यार्थी भर्ना लिन असमर्थ रहेको घोषणा गरेको छ।
एसोसिएसनले चिकित्सा शिक्षा आयोगलाई तत्काल भर्ना प्रक्रिया अगाडि नबढाउन आग्रह गरेपछि शैक्षिक सत्र २०८३/८४ को भर्ना प्रक्रिया प्रभावित हुने आशंका बढेको छ। आयोगले स्नातक तहको एकीकृत प्रवेश परीक्षा २०२७ अन्तर्गत एमबीबीएस, बीडीएस, बीएस्सी नर्सिङ, बीएएमएस, बी अप्टोमेट्रीलगायत कार्यक्रमको नतिजा सार्वजनिक गरिरहेको समयमा निजी कलेजहरूको यस्तो अडान आएको हो। यसले प्रवेश परीक्षामा सफल भएका विद्यार्थी र अभिभावकलाई अन्योलमा पारेको छ।
निजी मेडिकल कलेज सञ्चालकहरूले मुख्यतः दुई विषयलाई विवादको केन्द्रमा राखेका छन्। पहिलो, आयोगले निर्धारण गरेको सिटको आधार र मूल्याङ्कन प्रक्रियामा पारदर्शिता नअपनाइएको उनीहरूको आरोप छ। दोस्रो, विगत लामो समयदेखि शिक्षण शुल्क पुनरवलोकन नहुँदा बढ्दो सञ्चालन खर्च धान्न कठिन भएको उनीहरूको दाबी छ।
आयोगले गत असोज ३० गते सिट निर्धारणसम्बन्धी सूचना जारी गरे पनि सिट निर्धारणका मापदण्ड, मूल्याङ्कनका सूचक, प्रत्येक सूचकको भार र गणना विधि सार्वजनिक नगरेको एसोसिएसनको भनाइ छ। कलेजहरूले प्रत्येक संस्थाको छुट्टाछुट्टै मूल्याङ्कन प्रतिवेदन अर्थात् स्कोर कार्ड सार्वजनिक गर्न माग गरेका छन्। कुन आधारमा कुनै कलेजको सिट वृद्धि भयो, कुनैको यथावत् रह्यो र कुनैको कटौती भयो भन्ने स्पष्ट विवरण सार्वजनिक हुनुपर्ने उनीहरूको माग छ।
एसोसिएसनका अनुसार व्यक्तिगत स्कोर कार्ड सार्वजनिक भएमा कलेजहरूले आफ्नो शैक्षिक गुणस्तर, जनशक्ति, भौतिक पूर्वाधार र सेवा सुविधाको अवस्था मूल्याङ्कन गर्न सक्नेछन्। त्यसका आधारमा सुधार गर्नुपर्ने पक्ष पहिचान गर्न पनि सहज हुनेछ।
विवादको अर्को महत्वपूर्ण विषय शिक्षण शुल्क हो। राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १८ तथा चिकित्सा शिक्षा नियमावली, २०७७ को नियम २३ ले शिक्षण संस्थाको वास्तविक लागत, सञ्चालन खर्च, मुद्रास्फीति, भौगोलिक अवस्था र छात्रवृत्तिको भारलाई आधार मानेर शुल्क निर्धारण तथा पुनरवलोकन गर्नुपर्ने व्यवस्था गरेको छ।
निजी कलेज सञ्चालकहरूले पछिल्लो पाँच वर्षमा मुद्रास्फीति करिब २६.६४ प्रतिशतले बढेको तर शिक्षण शुल्क भने सोहीअनुसार समायोजन नभएको बताएका छन्। चिकित्सक, नर्स तथा अन्य कर्मचारीको पारिश्रमिक, विद्युत्, इन्धन, प्रयोगशाला उपकरण, विश्वविद्यालय शुल्क र अस्पताल सञ्चालन खर्च बढ्दै गएको उनीहरूको भनाइ छ। छात्रवृत्ति, निःशुल्क शैया तथा स्वास्थ्य शिविरजस्ता सामाजिक उत्तरदायित्वका दायित्वसमेत निर्वाह गर्नुपर्ने भएकाले पुरानै शुल्कमा संस्था सञ्चालन गर्न कठिन भएको उनीहरूको दाबी छ।
एसोसिएसनका अध्यक्ष प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले चिकित्सा शिक्षामा सिट र शुल्कको वैज्ञानिक पुनरवलोकन आवश्यक रहेको बताएका छन्। उनका अनुसार बजारभाउ, महँगी, कर्मचारीको तलब र संस्थागत सञ्चालन खर्च बढिरहँदा पुरानै शुल्कमा मेडिकल कलेज सञ्चालन गर्न सम्भव छैन।
उनले सिट निर्धारणका मापदण्ड, मूल्याङ्कन विधि र प्रत्येक कलेजको स्कोर कार्ड सार्वजनिक गर्नुपर्ने माग गर्दै आफूहरू पठनपाठन रोक्ने पक्षमा नरहेको स्पष्ट पारेका छन्। तर, माग सम्बोधन नभएसम्म नयाँ विद्यार्थी भर्ना प्रक्रियामा सहभागी हुन कठिन हुने उनको भनाइ छ।
यता चिकित्सा शिक्षा आयोगले भने तत्काल शिक्षण शुल्क पुनरवलोकनसम्बन्धी औपचारिक छलफल सुरु नभएको जनाएको छ। आयोगका सूचना अधिकारी अर्जुन ढकालका अनुसार हालका लागि यसअघिका निर्णयबाट निर्धारण गरिएको शुल्क नै कार्यान्वयनमा आउनेछ। आयोगले २०७७ माघ २९ र २०७८ जेठ २८ गतेका निर्णय तथा २०७९ मंसिर १५ गते गरिएको समायोजनका आधारमा एकीकृत शिक्षण शुल्क कायम गरेको छ।
आयोगले शैक्षिक सत्र २०८३/८४ का लागि स्नातक, डीएम/एमसीएच तथा एनबीएमएस (सब–स्पेसियालिटी) तहमा सिट निर्धारण गरेका शिक्षण संस्थाको कुल संख्या ९५ रहेको जनाएको छ। यसमध्ये स्नातक तहमा ८८, डीएम/एमसीएच तहमा १५ र एनबीएमएस तहमा ६ वटा शिक्षण संस्थामा सिट निर्धारण गरिएको छ। डीएम/एमसीएच तहका आठ संस्था स्नातक तहको सूचीमा समेत समावेश छन्।
यसैबीच, आयोगले कायम गरेको शुल्कअनुसार एमबीबीएस अध्ययनका लागि उपत्यकाभित्र ४१ लाख ६८ हजार ९० रुपैयाँ र उपत्यकाबाहिर ४५ लाख ९५ हजार ७२० रुपैयाँ लाग्नेछ। बीडीएसका लागि २० लाख ९२ हजार २९० रुपैयाँ, बीएस्सी नर्सिङका लागि १० लाख ३६ हजार रुपैयाँ र बीएएमएसका लागि ११ लाख ३१ हजार ९३० रुपैयाँ शुल्क तोकिएको छ।
स्नातक तहका अन्य कार्यक्रममध्ये बीएनएस/पीबीएनका लागि ५ लाख १८ हजार, फार्म डीका लागि ६ लाख ७३ हजार ४०० तथा बीपीटी, बीएस्सी एमआईटी, बीएस्सी एमएलटी, बीफार्मेसी, बीपीएच, बीअप्टोमेट्रीलगायतका कार्यक्रमका लागि ७ लाख ७७ हजार रुपैयाँ शुल्क कायम गरिएको छ।
स्नातकोत्तर तहमा भने विषय र कार्यक्रमअनुसार शुल्क फरक छ। एमफार्मेसीका लागि ५ लाख १९ हजार ६६० रुपैयाँ, एमएस्सी नर्सिङ, एमएन, एमपीएच तथा मास्टर अफ फिजियोथेरापीका लागि ९ लाख २० हजार २३० रुपैयाँ र एमडी आयुर्वेदका लागि ९ लाख ५७ हजार ६४० रुपैयाँ शुल्क निर्धारण गरिएको छ। त्यस्तै, विभिन्न आधारभूत चिकित्सा विषयका लागि १० लाख ८५ हजार ८७० रुपैयाँ तथा क्लिनिकल विषयका अधिकांश कार्यक्रमका लागि २३ लाख ८१ हजार ७६० रुपैयाँ शुल्क कायम छ।
निजी कलेज र नियामक निकायबीचको यो विवाद समयमै समाधान नभए शैक्षिक सत्र प्रभावित हुने जोखिम बढेको छ। प्रवेश परीक्षामा सफल विद्यार्थीको भर्ना प्रक्रिया अवरुद्ध भए उनीहरू विदेशमा चिकित्सा शिक्षा अध्ययन गर्न बाध्य हुन सक्ने सम्भावना पनि छ। त्यसैले शिक्षा मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, चिकित्सा शिक्षा आयोग, विश्वविद्यालय र निजी कलेजका प्रतिनिधिबीच तत्काल संवाद आवश्यक देखिएको छ।
चिकित्सा शिक्षाको गुणस्तर, संस्थाको आर्थिक दिगोपन र विद्यार्थीको हितलाई सँगसँगै सम्बोधन गर्ने गरी स्पष्ट नीति नबनेसम्म यस्तो विवाद दोहोरिने जोखिम रहन्छ। अहिलेको मुख्य चुनौती निजी कलेजका आर्थिक माग र विद्यार्थीको शैक्षिक भविष्यबीच सन्तुलन कायम गर्दै भर्ना प्रक्रिया सहज बनाउनु हो।