काठमाडौँ- नेपालमै गुणस्तरीय शिक्षा सम्भव रहेको भन्दै शिक्षा क्षेत्रका नीति तथा पाठ्यक्रमलाई समयअनुकूल परिमार्जन गर्नुपर्नेमा सगरमाथा कलेज अफ साइन्स एण्ड टेक्नोलोजीकी प्रिन्सिपल दक्षिणा श्रेष्ठले जोड दिएकी छन्।
विद्यालय तहदेखि प्लस टु, स्नातक, स्नातकोत्तर हुँदै पीएचडीसम्मको शिक्षालाई समग्र प्रणालीका रूपमा विकास गर्नुपर्ने उनको भनाइ छ।
उनले भनिन्
“गुणस्तरीय शिक्षा भनेको विश्वविद्यालय लेभलको शिक्षा मात्रै होइन। स्कुल लेभल, प्लस टु, अन्डरग्राड, मास्टर्स हुँदै पीएचडीसम्मको शिक्षालाई एउटा फ्लोमा इन्टिग्रेट गरेर हेर्नुपर्छ।
शिक्षा नीति निर्माण गर्दा विद्यार्थीलाई केन्द्रमा राख्दै कलेज तथा विश्वविद्यालय, अभिभावक र अन्य सरोकारवालाको भूमिकालाई पनि समेट्न आवश्यक छ। नीति निर्माणसँगै त्यसको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित पक्षबीच समन्वय हुनुपर्ने उनले बताइन्।
उच्च शिक्षाका लागि विद्यार्थी विदेशिने क्रमलाई कम गर्न नेपालमै गुणस्तरीय र प्रतिस्पर्धी शिक्षा उपलब्ध गराउनुपर्ने श्रेष्ठले बताइन्। स्वदेशमै विद्यार्थीलाई आकर्षित गर्न शैक्षिक गुणस्तर, पाठ्यक्रम, सीप र व्यावहारिक शिक्षामा सुधार आवश्यक रहेको उनको भनाइ छ।
प्रविधिको तीव्र विकाससँगै शिक्षा र पाठ्यक्रम पनि परिवर्तन हुनुपर्ने बताइन्। विशेषगरी सूचना प्रविधि तथा इन्जिनियरिङ शिक्षामा नयाँ–नयाँ प्रविधि भित्रिइरहेकाले पाठ्यक्रमलाई नियमित रूपमा अद्यावधिक गर्नुपर्ने उनले उल्लेख गरिन्।
उनका अनुसार पाठ्यक्रम परिवर्तनसँगै शिक्षण पद्धति र विद्यार्थीको सीप विकासमा पनि ध्यान दिन आवश्यक छ। विद्यार्थीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रम बजारमा प्रतिस्पर्धी बनाउन व्यावहारिक तथा सीपमूलक शिक्षालाई प्राथमिकता दिनुपर्ने उनको धारणा छ।
नयाँ प्रविधिको विकासले शिक्षण र रोजगारीको क्षेत्रमा नयाँ अवसरसँगै चुनौती पनि थपेको श्रेष्ठले बताइन्। त्यसैले विद्यार्थीलाई प्रविधिमैत्री बनाउन शिक्षा प्रणालीलाई पनि समयअनुकूल बनाउनुपर्ने उनको भनाइ छ।
त्यस्तै, अहिलेको पुस्ताको सिकाइ शैली विगतको भन्दा फरक रहेको भन्दै उनले शिक्षकले पनि आफूलाई परिवर्तन गर्नुपर्ने बताइन्। विद्यार्थीको रुचि, अध्ययन गर्ने बानी, सोच्ने शैली र सिकाइको तरिका बुझेर शिक्षण पद्धति विकास गर्नुपर्ने उनले उल्लेख गरिन्।
विद्यार्थी विदेश जाने एउटा कारण अध्ययनसँगै काम गर्ने अवसर पनि रहेको श्रेष्ठको भनाइ छ। नेपालमा पनि इन्टर्नसिप तथा व्यावहारिक शिक्षालाई प्रभावकारी बनाएर विद्यार्थीलाई अध्ययनसँगै कामको अनुभव हासिल गर्ने वातावरण सिर्जना गर्न सकिने उनले बताइन्।
उनका अनुसार विद्यार्थीलाई कक्षाकोठाको ज्ञानसँगै वास्तविक कार्यक्षेत्रको अनुभव दिलाउन सके उनीहरूको सीप विकासमा सहयोग पुग्नेछ।
श्रेष्ठले नेपालमा इन्जिनियरिङ शिक्षा विगतको तुलनामा थप पहुँचयोग्य बन्दै गएको बताइन्। सरकारी तथा निजी क्षेत्रका शिक्षण संस्थाले विद्यार्थीलाई गुणस्तरीय इन्जिनियरिङ शिक्षा उपलब्ध गराउने प्रयास गरिरहेको उनको भनाइ छ।
नेपालमै उपलब्ध शैक्षिक अवसरबारे विद्यार्थी तथा अभिभावकलाई पर्याप्त जानकारी दिन सके स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने वातावरण थप बलियो बनाउन सकिने उनको धारणा छ।
उनले व्यक्तिगत तथा सगरमाथा कलेज अफ साइन्स एण्ड टेक्नोलोजीको तर्फबाट EduSawal कार्यक्रमको सफलताको शुभकामना दिँदै यसले विद्यार्थी, अभिभावक र शिक्षा क्षेत्रका सरोकारवालाबीच गुणस्तरीय शिक्षाबारे थप संवाद सिर्जना गर्ने विश्वास व्यक्त गरिन्।