काठमाडौँ- उच्च शिक्षा नेपालमै सम्भव छ। त्यसका लागि निजी स्कुल–कलेजसँगै सरकारले पनि केही नीतिगत हस्तक्षेप गर्नुपर्ने देखिन्छ। मुख्य कुरा विद्यार्थी किन बाहिर जान्छन् भन्ने बुझ्नुपर्छ। विद्यार्थी नेपालमा उच्च शिक्षाको गुणस्तर नभएका कारण मात्रै बाहिर गइरहेका छन् भन्नेमा म विश्वास गर्दिनँ। नेपालमा पढेका विद्यार्थीले विश्वस्तरमा राम्रो स्थान हासिल गरेका र विभिन्न क्षेत्रमा सफल भएका थुप्रै उदाहरण छन्।
हामीजस्तो देशबाट विद्यार्थी बाहिर जानुको अर्को मुख्य कारण रोजगारीसँग जोडिएको छ। नेपालमा पढ्दै र काम गर्दै गर्ने सुविधा प्राप्त हुने हो भने धेरै नेपाली विद्यार्थीले आफ्ना आमाबुबासँगै बसेर नेपालमै उच्च शिक्षा अध्ययन गर्ने अवसर पाउन सक्छन्।
शिक्षाको गुणस्तरलाई तपाईंले कसरी मूल्यांकन गर्नुभएको छ?
यो विषय देशको अर्थतन्त्रसँग पनि प्रत्यक्ष रूपमा जोडिएको छ। विद्यार्थीले कहाँ पढ्ने भन्ने विषयमा शिक्षा र रोजगारी दुवै महत्वपूर्ण हुन्छन्। नेपालको विश्वविद्यालयहरूको पाठ्यक्रम हेर्ने हो भने र विश्वविद्यालयहरूले जसरी पाठ्यक्रमलाई समयअनुसार अपडेट गर्दै लगेका छन्, त्यसका आधारमा नेपालको शिक्षा अन्तर्राष्ट्रिय स्तरको छ भन्नेमा कुनै दुविधा छैन।
पाठ्यक्रममा कस्तो सुधार आवश्यक छ?
पाठ्यक्रममा केही परिवर्तन आवश्यक छ। विशेषगरी सीप विकासलाई बढी प्राथमिकता दिनुपर्छ। सैद्धान्तिक ज्ञानसँगै विद्यार्थीलाई सीप विकासमा कसरी जोड्न सकिन्छ भन्ने कुरा पाठ्यक्रमले हेर्नुपर्छ।
अहिले पोखरा विश्वविद्यालयले बीबीए लगायतका केही कार्यक्रमको पाठ्यक्रममा परिवर्तन गरेको छ। त्यसले विद्यार्थीको सीप विकासमा केन्द्रित हुने प्रयास गरेको देखिन्छ। अन्य विश्वविद्यालयहरूले पनि पाठ्यक्रममा सीप विकासलाई प्राथमिकता दिनुपर्छ।
विद्यार्थीलाई रोजगारीसँग जोड्न सरकारको भूमिका कस्तो हुनुपर्छ?
सरकारले विद्यार्थीलाई अर्थतन्त्रसँग कसरी जोड्ने भन्ने विषयमा पनि ध्यान दिनुपर्छ। उनीहरूको पढाइसँगै काम गर्ने र रोजगारीको अवसर सिर्जना गर्ने विषयमा जोड दिन आवश्यक छ।
विद्यार्थीले पढ्दै गर्दा काम गर्न पाउने वातावरण बनाउनुपर्छ। यसका लागि सरकार र निजी क्षेत्र दुवैको भूमिका महत्वपूर्ण हुन्छ।
निजी क्षेत्रले विद्यार्थीलाई पार्टटाइम रोजगारीको अवसर दिन सक्छ?
नेपालका निजी क्षेत्रले विद्यार्थीलाई पार्टटाइम जबको अवसर दिनुपर्छ। यो केवल आठदेखि पाँच बजेसम्मको कामको अवधारणामा सीमित हुनु हुँदैन।
उदाहरणका लागि, कुनै विद्यार्थी १२ बजेदेखि काम गर्न सक्छ वा १ बजेदेखि काम गर्न सक्छ भने उसलाई १ बजेदेखि बेलुका ६ बजेसम्म काम गर्ने अवसर किन नदिने? विद्यार्थीको पढाइको समयलाई ध्यानमा राखेर रोजगारीको समय लचिलो बनाउन सकिन्छ।
कतिपय अवस्थामा कलेज दिउँसो साढे ४ बजे सकिए पनि विद्यार्थीले त्यसपछि पार्टटाइम जब पाउन सकिरहेको हुँदैन। त्यसैले विद्यार्थीको समयअनुसार काम गर्ने वातावरण बनाउनुपर्छ।
विद्यार्थीका लागि कामको समयलाई कसरी लचिलो बनाउन सकिन्छ?
विद्यार्थीको समयअनुसार काममा पनि लचकता हुनुपर्छ। पार्टटाइम जब र इन्टर्नसिपका अवसर विद्यार्थीले पाउनुपर्छ। उनीहरूले आफ्नो अध्ययनलाई असर नपर्ने गरी काम गर्न सक्ने व्यवस्था आवश्यक छ।
सरकारले रोजगारीसँग सम्बन्धित नीतिमा विद्यार्थीलाई पनि समेटेर काम गर्नुपर्छ। निजी क्षेत्रमा पनि विद्यार्थीमैत्री रोजगारीको अवधारणा विकास गर्न जरुरी छ। काम र रोजगारीसँगै विद्यार्थीका लागि इन्टर्नसिपका अवसर विकास गर्नुपर्छ। विद्यार्थीले अध्ययनका क्रममा उद्योग तथा व्यवसायसँग जोडिएर व्यावहारिक अनुभव हासिल गर्न पाउनुपर्छ।
एकातर्फ विश्वविद्यालयमा विद्यार्थीले सैद्धान्तिक ज्ञान हासिल गर्छन् भने अर्कोतर्फ उद्योग तथा व्यवसायसँग जोडिएर त्यसलाई व्यवहारमा प्रयोग गर्ने अवसर पाउनुपर्छ।
नेपालमै उच्च शिक्षा अध्ययन गर्ने वातावरण बनाउन के गर्नुपर्छ?
एकेडेमिया र इन्डस्ट्री सँगसँगै मिलेर अघि बढ्नुपर्छ। विश्वविद्यालय, निजी क्षेत्र र सरकारबीच समन्वय हुनुपर्छ। विद्यार्थीलाई पढाइसँगै काम गर्ने, पार्टटाइम जब गर्ने र इन्टर्नसिप गर्ने अवसर उपलब्ध गराउनुपर्छ।
पाठ्यक्रममा सीप विकासलाई प्राथमिकता दिने, विद्यार्थीलाई रोजगारीसँग जोड्ने र काममा लचकता प्रदान गर्ने वातावरण बन्यो भने नेपालमै उच्च शिक्षा सम्भव छ। र त्यो हुन्छ नै।