काठमाडौँ- नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले पार्टीको १५औँ महाधिवेशन नेताहरूको पद व्यवस्थापनमा मात्र केन्द्रित नभई कांग्रेसको आत्मसमीक्षा, आत्मसुधार र पुनर्निर्माणको दिशामा अघि बढ्नुपर्ने बताएकी छन्।
१५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै भुसालले कांग्रेसलाई सुधारिएको र थप लोकतान्त्रिक पार्टीका रूपमा अघि बढाउने अठोट रहेको बताइन्।
उनले महाधिवेशनलाई नेताहरूको पद बाँडफाँट र व्यवस्थापनको विषयमा सीमित गर्न नहुने धारणा राखिन्। उनका अनुसार महाधिवेशन पार्टीभित्र देखिएका कमजोरीको समीक्षा गर्दै संगठनलाई थप सुदृढ बनाउने अवसर पनि हो।
‘हामी महाधिवेशन नेताको पद व्यवस्थापनका लागि मात्रै गरिरहेका छैनौँ,’ भुसालले भनिन्, ‘कांग्रेसमा आत्मसमीक्षा, आत्मसुधार र पुनर्निर्माणका लागि हो।’
उनले पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई थप बलियो बनाउनुपर्नेमा जोड दिइन्। निर्णय प्रक्रियामा लोकतान्त्रिक अभ्यासलाई प्रभावकारी बनाउँदै संगठनलाई समयअनुकूल रूपान्तरण गर्नुपर्ने उनको भनाइ थियो।
भुसालले कांग्रेसले नयाँ र युवा पुस्तालाई अवसर दिँदै अघि बढ्ने नीति लिनुपर्ने बताइन्। नेतृत्व र संगठनमा पुस्तान्तरणसँगै नयाँ पुस्ताको सहभागिता बढाउनुपर्ने उनले उल्लेख गरिन्।
महिला आन्दोलन र पार्टी संगठनमा महिलाको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै भुसालले नीति निर्माण तहमा महिलाको प्रतिनिधित्व बढाउनुपर्नेमा जोड दिइन्।
उनले महिलालाई संगठनमा मात्र सीमित नराखी पार्टीको नीति निर्माण तथा नेतृत्व तहमा समेत प्रभावकारी सहभागिता सुनिश्चित गर्नुपर्ने बताइन्।