काठमाडौँ- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजनीतिक दलहरूबीच सत्ता केन्द्रित प्रतिस्पर्धाभन्दा देश विकासको स्पष्ट र दीर्घकालीन योजनामा प्रतिस्पर्धा हुनुपर्ने बताएका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै भट्टराईले आगामी २० वर्षभित्र नेपाललाई विकसित देशको स्तरमा पुर्याउने लक्ष्यसहित राजनीतिक दलहरूले साझा विकास योजना निर्माण गर्नुपर्ने धारणा राखे।
उनले नेपालले विकासको स्पष्ट गन्तव्य निर्धारण गरेर त्यसलाई हासिल गर्ने दीर्घकालीन रणनीति बनाउनुपर्ने बताए। उनका अनुसार योजना निर्माणसँगै त्यसको प्रभावकारी कार्यान्वयनका लागि राजनीतिक दलहरूबीच स्वस्थ प्रतिस्पर्धा आवश्यक छ।
मलेसिया, दक्षिण कोरिया, सिंगापुर र चीनले छोटो समयमै विकासमा ठूलो फड्को मारेको उदाहरण प्रस्तुत गर्दै भट्टराईले नेपालले पनि ती देशबाट सिकेर विकासको गति तीव्र बनाउनुपर्ने बताए।
‘अहिले पनि समय छ, सबैले सोच्नुस्। अरू देश कसरी विकास भए? हाम्रै जीवनकालमा मलेसिया, कोरिया, सिंगापुर, चीनहरू ग्लोबल साउथबाट ग्लोबल नर्थसम्म पुगे भने हामी पनि आगामी २० वर्षभित्र त्यहाँ कसरी पुग्ने?’ उनले प्रश्न गरे।
उनले देश विकासका लागि सबै राजनीतिक शक्तिले स्वीकार गर्न सक्ने साझा राष्ट्रिय योजना आवश्यक रहेको बताए। त्यस्तो योजनालाई कार्यान्वयन गर्ने विषयमा दलहरूले आफ्नो क्षमता र दृष्टिकोण प्रस्तुत गर्दै जनताबीच प्रतिस्पर्धा गर्नुपर्ने उनको भनाइ थियो।
‘त्यसको एउटा योजना बनाऔँ। त्यसलाई सबै पार्टीहरूले कसरी कार्यान्वयन गर्ने भनेर प्रतिस्पर्धा गरौँ। त्यसो गरे मात्रै देश बन्छ,’ भट्टराईले भने।
भट्टराईले राजनीतिक स्थिरता र मुलुकको भविष्यका लागि नयाँ पुस्ताप्रति विश्वास बढाउनुपर्नेमा पनि जोड दिए। पुरानै शैली र सोचबाट मात्रै देशलाई अघि बढाउन नसकिने भन्दै उनले नयाँ पुस्तालाई नेतृत्व र जिम्मेवारी दिनुपर्ने बताए।
‘अब पाठ सिकौँ। अब हामीले नयाँ पुस्तालाई विश्वास गर्नुपर्छ,’ उनले भने। नयाँ पुस्ताको ऊर्जा, सोच र क्षमतालाई राज्य निर्माणसँग जोड्न सके मात्रै मुलुकले अपेक्षित गति लिन सक्ने उनको धारणा थियो।
उनले राजनीतिक दलहरूबीचको प्रतिस्पर्धालाई विकास, सुशासन र समृद्धिको परिणामसँग जोड्न सके नेपालले छोटो समयमै ठूलो परिवर्तन हासिल गर्न सक्ने बताए।