काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको वर्तमान राजनीतिक अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै राजनीतिक नेतृत्व र दलहरूप्रति जनतामा बढ्दै गएको वितृष्णा अझै हट्न नसकेको बताएका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटनसत्रमा बोल्दै लिङ्देनले पाँच वर्षअघि कांग्रेसको १४औँ महाधिवेशनका क्रममा आफूले मुलुकको राजनीतिक अवस्थाबारे गरेको टिप्पणीको स्मरण गरे। त्यतिबेला आफूले व्यक्त गरेको धारणाप्रति तत्कालीन कांग्रेस नेतृत्वले आक्रोश व्यक्त गरेको उनले बताए।
उनका अनुसार त्यसबेला आफू राष्ट्रिय पार्टीको अध्यक्षसमेत नरहेको अवस्थामा कांग्रेस नेतृत्वलाई आफूले अपमान गरेको भ्रम परेको थियो। ‘त्यसबेला मुलुकको नेतृत्व गरिरहेका नेताहरूलाई भ्रम भयो। भर्खर राष्ट्रिय पार्टी नभएको पार्टीको अध्यक्ष यहाँ आएर हामीलाई अपमान गरिराखेको छ भन्ने भ्रम भयो र उहाँहरूले आक्रोश पोख्नुभयो,’ उनले भने।
पाँच वर्षपछि कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुँदै गर्दा भने आफूले त्यतिबेलाकै शैलीमा टिप्पणी नगर्ने लिङ्देनले बताए। तर, पाँच वर्षअघि आफूले औँल्याएको राजनीतिक परिस्थिति र अहिलेको अवस्थाबीच खासै सुधार नभएको उनको दाबी छ।
लिङ्देनले आम नागरिकमा राजनीतिक दल र नेताप्रतिको वितृष्णा तथा घृणा अझै कायम रहेको बताए। केही परिवर्तन देखिए पनि मुलुकको समग्र राजनीतिक अवस्था सुधार हुनुको साटो थप जटिल बन्दै गएको उनको भनाइ छ।
‘आम जनतामा नेताप्रति र राजनीतिप्रति वितृष्णा र घृणामा सुधार भएको छैन,’ उनले भने, ‘केही परिवर्तन त भयो, मान्छेमा परिवर्तन भयो तर अहिले पनि देशको स्थिति जहाँको त्यही छ, होइन झन् जटिल बनेको छ।’
मुलुक एक प्रकारको अँध्यारो सुरुङतर्फ अघि बढिरहेको र राजनीतिक तरलता झन् बढ्दै गएको लिङ्देनले टिप्पणी गरे। उनका अनुसार देश अहिले पनि राजनीतिक रूपमा ‘लिगबाट बाहिर’ गएको अवस्थामा छ।
राजनीतिक असहमति र विरोधलाई सम्बोधन गर्ने राजनीतिक नेतृत्वको शैलीमा समेत खासै परिवर्तन नआएको उनको आरोप छ। समय र माध्यम फेरिए पनि विरोधप्रति राज्य तथा राजनीतिक नेतृत्वको व्यवहारमा भने मौलिक परिवर्तन आउन नसकेको उनले बताए।
‘हिजो कसैको विरोध गर्यो भने गोली आउँथ्यो, आज गलत कुराको विरोध गर्यो भने सामाजिक सञ्जाल आउँछ,’ लिङ्देनले भने, ‘हिजो गोली प्रयोग हुन्थ्यो, आज सामाजिक सञ्जाल प्रयोग हुन्छ । पात्र फेरिएको छ, प्रवृत्ति फेरिएको छैन।’
लिङ्देनले राजनीतिक नेतृत्वले जनतामा बढ्दै गएको निराशा र वितृष्णालाई गम्भीर रूपमा लिनुपर्ने बताए। जनताको असन्तुष्टिलाई बेवास्ता गर्दै अघि बढ्नेभन्दा राजनीतिक दलहरूले आत्मसमीक्षा गर्नुपर्ने र आफ्नो कार्यशैलीमा सुधार ल्याउनुपर्ने उनको धारणा छ।
उनले मुलुकलाई वर्तमान राजनीतिक जटिलताबाट बाहिर निकाल्न दलहरूबीच गम्भीर संवाद, आत्मसमीक्षा र सुधार आवश्यक रहेको बताए। जनताको विश्वास पुनः कायम गर्न नसके राजनीतिक दलहरूप्रतिको असन्तुष्टि अझ गहिरिँदै जाने उनको चेतावनी थियो।