काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली कांग्रेससँग पुनः सहकार्य गरेर लोकतन्त्रको रक्षा गर्दै मुलुकको मुहार परिवर्तन गर्ने समय आएको बताएका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पोखरेलले कांग्रेस सभापति गगनकुमार थापा गणतन्त्र स्थापनाका लागि भएको आन्दोलनमा आफूहरूसँगै उभिएको स्मरण गरे। उनले थापा कांग्रेसको नेतृत्वमा आउनुलाई सकारात्मक राजनीतिक परिवर्तनका रूपमा व्याख्या गरे।
पोखरेलले त्रिचन्द्र क्याम्पसमा आयोजित सभादेखि नै आफूहरू राजनीतिक आन्दोलनमा सँगै उभिएको बताए। ‘गगनकुमार थापा गणतन्त्र ल्याउने नेतृत्वको आन्दोलनमा हामीसँगै थियौँ । त्रिचन्द्र क्याम्पसको सभाबाट हामी सँगै उभिएका थियौँ । अहिले पुरानो पार्टी कांग्रेसको नेतृत्वमा आउनुभएको छ । यो एकदमै सकारात्मक कुरा हो,’ उनले भने।
उनले विगतमा राणा शासन, पञ्चायती व्यवस्था र ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनविरुद्ध कांग्रेस र कम्युनिस्टहरू मिलेर आन्दोलन गरेको स्मरण गर्दै आगामी दिनमा पनि लोकतन्त्रको रक्षाका लागि सहकार्य गर्नुपर्ने बताए।
‘अब फेरि पनि मिलेर लोकतन्त्र र यो देशको मुहार फेर्न लाग्नुपर्ने समय आएको छ,’ पोखरेलले भने, ‘राणा, पञ्चायत र ज्ञानेन्द्र शाहको शासनमा हामी मिलेर गरेका हौँ । अब फेरि पनि कांग्रेससँगको सहकार्यमा लोकतन्त्रको रक्षाका लागि लड्नेछौँ।’
पोखरेलले वर्तमान सरकार राजनीतिक दलहरूसँग पर्याप्त छलफल र सहकार्य नगरी अघि बढिरहेको आरोप पनि लगाए। प्रधानमन्त्रीले संसद् र जनताका आवाजसमेत नसुन्ने अवस्था सिर्जना भएको दाबी गर्दै उनले सरकारको कार्यशैलीलाई ‘स्वेच्छाचारी शासन’को संज्ञा दिए।
उनले आगामी दिनमा नेपाली कांग्रेसले लोकतन्त्र, राजनीतिक सहकार्य र जनताका मुद्दाका विषयमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे। लोकतान्त्रिक शक्तिहरूबीच सहकार्य र संवादको वातावरण निर्माण गर्नुपर्नेमा उनले जोड दिए।
महासचिव पोखरेलले युवाहरूमा बढिरहेको निराशालाई गम्भीर रूपमा लिनुपर्ने बताए। युवाका सपना र आकांक्षा पूरा गर्ने जिम्मेवारी सबै राजनीतिक दलको भएको भन्दै त्यसका लागि दलहरूबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।
‘युवाहरूलाई निराश हुन दिनु हुँदैन । युवाका सपनाहरू पूरा गर्ने जिम्मेवारीमा हामी सबै मिलेर जानुपर्छ,’ उनले भने।
पोखरेलले कांग्रेसको १५औँ महाधिवेशनले नेपाली जनता र जनभावनासँग जोडिएका विषयलाई प्राथमिकतामा राख्दै नयाँ राजनीतिक एजेन्डा अघि सार्ने विश्वाससमेत व्यक्त गरे।
उनले सूचना प्रविधिको विकासमा कांग्रेस र एमालेले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै बदलिँदो समयअनुसार राजनीतिक दलहरूले पनि आफ्ना नीति र कार्यक्रमलाई परिमार्जन गर्नुपर्ने बताए।