काठमाडौँ- पूर्वप्रधानमन्त्री एवं नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति गगन थापा र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राजनीतिक ‘क्रमभंगता’ जारी राख्न आग्रह गरेका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले विगतमा आफूले पटक–पटक क्रमभंग गर्दै आएको स्मरण गराउँदै अब त्यसको जिम्मेवारी नयाँ पुस्ताका नेताहरूको काँधमा आएको बताए।
उनले अब क्रमभंग गर्ने पालो गगन थापा र रवि लामिछानेको रहेको उल्लेख गरे। बदलिँदो राजनीतिक परिस्थितिमा नयाँ ढंगबाट अघि बढ्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो।
प्रचण्डले आफूले विगतमा धेरैपटक राजनीतिक क्रमभंग गरेको भए पनि अबका दिनमा त्यस्तो निर्णय लिन आफूलाई सहज नहुने बताए।
कांग्रेस सभापति गगन थापाप्रति अपेक्षा व्यक्त गर्दै प्रचण्डले थापाले आगामी दिनमा देशको नेतृत्व गर्ने विश्वाससमेत व्यक्त गरे। उनले नयाँ पुस्ताका नेताहरूले देशलाई नयाँ दिशामा अघि बढाउन भूमिका खेल्नुपर्ने धारणा राखे।
कार्यक्रममा प्रचण्डले कम्युनिस्ट शक्तिहरू अहिले खुम्चिएको अवस्थामा रहेको भन्दै आफूले धेरै ठूला राजनीतिक दाबी नगर्ने बताए।
यद्यपि, आफ्नो नेतृत्वमा रहेको मन्त्रिपरिषद्का धेरै पूर्वमन्त्रीहरू कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा उपस्थित भएको उल्लेख गर्दै उनले सबैप्रति आफ्नो सद्भाव र माया रहेको बताए।
प्रचण्डको अभिव्यक्तिले कांग्रेस महाधिवेशनको मञ्चबाट बदलिँदो राजनीतिक समीकरण र नयाँ पुस्ताका नेताहरूप्रतिको उनको अपेक्षालाई संकेत गरेको छ।