काठमाडौँ- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाली कांग्रेसको सबैभन्दा ठूलो शक्ति उसको लामो राजनीतिक इतिहास भएको बताएका छन्। तर त्यही इतिहासका कमजोरीबाट समेत पाठ सिक्नुपर्ने उनको भनाइ छ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै लामिछानेले नेपालको लोकतान्त्रिक आन्दोलनमा कांग्रेसले पुर्याएको योगदानको आफूले सधैँ सम्मान गर्ने बताए। इतिहासलाई गौरव गर्ने विषयमा मात्रै सीमित नराखी त्यसबाट सिकेर अघि बढ्नुपर्ने उनले बताए।
‘नेपाली कांग्रेसको शक्ति इतिहास हो, कमजोर पनि इतिहास हो,’ लामिछानेले भने, ‘कांग्रेसको इतिहासबाट पाठ सिक्नैपर्छ। कांग्रेसको शक्ति नै उसको लामो राजनीतिक इतिहास हो। यसमा हामी पाठ सिकेर अगाडि बढ्नेछौँ।’
लामिछानेले आफू सत्तापक्ष भए पनि कांग्रेसको महाधिवेशनको मञ्चमा एक्लो प्रतिपक्षीजस्तो देखिएको भन्दै व्यंग्य गरे। आफू प्रायः एक्लै रहने बानी परेको भन्दै उनले राजनीतिक अवस्थालाई व्यक्तिगत शैलीमा जोडेर प्रस्तुत गरेका थिए।
‘आज यो मञ्चको एक्लो प्रतिपक्षी भएछु। सत्तापक्ष तर यो मञ्चको एक्लो प्रतिपक्ष। प्रायः एक्लो हुने बानी पनि छ मलाई,’ उनले भने।
कांग्रेसले विगतमा हासिल गरेका उपलब्धिसँगै उसका कमजोरीबाट पनि नयाँ पुस्ताले सिक्नुपर्ने लामिछानेले बताए। राजनीतिक इतिहासलाई केवल प्रशंसा गर्ने विषयका रूपमा नभई आगामी यात्राका लागि सिकाइको आधार बनाउनुपर्ने उनको भनाइ थियो।
कांग्रेसले नयाँ पुस्तालाई समयमै नेतृत्व र राजनीतिक अवसर दिएको भए आफू पनि कांग्रेसमै हुन सक्ने संकेतसमेत लामिछानेले गरे। राजनीतिक दलहरूले नयाँ पुस्ताको आकांक्षा, परिवर्तनको चाहना र जनताको अपेक्षालाई समयमै सम्बोधन गर्नुपर्ने उनको भनाइ थियो।
भाषण, नारा र घोषणापत्रमा मात्रै सीमित राजनीति अब पर्याप्त नहुने लामिछानेले बताए। जनताले राजनीतिक दलको प्रतिबद्धताभन्दा काम र परिणाम हेर्न थालेको भन्दै उनले काम गर्न नसके निर्वाचनमार्फत जनताले फैसला गर्ने अधिकार सुरक्षित रहेको बताए।
राष्ट्रिय हितका विषयमा भने राजनीतिक दल, विचार र झन्डाको भिन्नता गौण हुनुपर्ने लामिछानेको धारणा थियो। मुलुकको सवालमा सबै राजनीतिक शक्ति एक ठाउँमा उभिनुपर्ने उनको भनाइ छ।
‘पार्टीको कुरा होइन, मुलुक र देशको कुरा आउँछ त्यतिबेला पार्टी र झन्डा फरक हुँदैन,’ उनले भने।
वर्तमान सरकार कमजोर भएको चर्चा भइरहेकोतर्फ संकेत गर्दै लामिछानेले सरकार नढल्ने दाबी गरे। सरकार परिवर्तनको निर्णय राजनीतिक दलको दबाब, चर्चा वा हल्लाबाट नभई जनताको मतबाट हुने उनको भनाइ थियो।
‘सरकार कमजोर भयो भन्ने पनि सुनिन्छ। यो सरकार ढल्दैन, नढलेपछि अरू ढल्छन्,’ लामिछानेले भने।
लोकतन्त्रको ठेक्का कुनै एउटा राजनीतिक दलले लिन नहुने भन्दै लामिछानेले लोकतन्त्र संकटमा परे जनताले नै त्यसको रक्षा गर्ने बताए। आफूहरूलाई हटाउने वा विस्थापित गर्ने अधिकारसमेत निर्वाचनमार्फत जनतामै रहेको उनले स्पष्ट पारे।
‘लोकतन्त्रको ठेक्का नलिनुस्, लोकतन्त्र खतरामा परे जनताले जोगाउँछन्,’ उनले भने, ‘हामीलाई हटाउन, विस्थापन गर्न चुनावले मात्रै सक्छ।’
निर्वाचनबाट प्राप्त जनमतलाई भ्रमित पार्ने वा त्यसको अपमान गर्ने काम नगर्न लामिछानेले आग्रह गरे। आफूहरूले काम गर्न नसके आगामी निर्वाचनमा जनताले आफूहरूलाई अस्वीकार गर्न सक्ने भन्दै त्यसलाई स्वीकार गर्ने उनले बताए।
‘हामीले काम गर्न सकेनौँ भने हामीलाई डाँडो कटाउनुस् भनेकै छौँ,’ उनले भने।
बलिदान र संघर्षबाट प्राप्त लोकतन्त्रका मूल्य, मान्यता र राजनीतिक उपलब्धिलाई कमजोर पार्ने कुनै प्रयास स्वीकार्य नहुने लामिछानेले बताए। लोकतान्त्रिक परिवर्तनको रक्षा गर्नु सबै राजनीतिक शक्ति र नागरिकको साझा जिम्मेवारी भएको उनको भनाइ थियो।
कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा नयाँ चरण सुरु भएको उल्लेख गर्दै लामिछानेले कांग्रेसले आफ्नो इतिहासबाट सिक्दै बदलिँदो राजनीतिक परिस्थिति र नयाँ पुस्ताको अपेक्षासँग आफूलाई जोडेर अघि बढ्नुपर्ने बताए।