काठमाडौँ- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकार नढल्ने दाबी गरेका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै लामिछानेले सरकार कमजोर हुँदै गएको र चाँडै ढल्ने चर्चा भइरहे पनि त्यस्तो सम्भावना नरहेको बताए। बरु सरकार ढल्ने भविष्यवाणी गर्दै हिँड्नेहरू नै सरकार नढलेपछि निराश भएर ढल्ने उनको व्यंग्य थियो।
‘कहिलेकाहीँ सुनिन्छ, सरकार कमजोर भयो, सरकार ढल्छ, अहिल्यै ढल्छ, भोलि ढल्छ, दसैँमा ढल्छ, तिहारमा ढल्छ, छठमा ढल्छ, नेपाल संवत्मा ढल्छ,’ लामिछानेले भने, ‘ढल्न त ढल्छ, तर यो पटक–पटक सरकार ढल्छ भन्ने मान्छे सरकार नढलेको देखेर बेहोस भएर ढल्छ।’
लामिछानेले वर्तमान सरकार केवल व्यक्ति परिवर्तनका लागि नभई इतिहास बदल्ने उद्देश्यसहित जनताबाट चयन भएको दाबी गरे। निर्वाचनबाट प्राप्त जनमतलाई कमजोर बनाउने वा त्यसको हुर्मत लिने काम नगर्न उनले राजनीतिक दलहरूलाई आग्रह गरे।
उनले लोकतन्त्र खतरामा रहेको भन्दै त्यसको संरक्षणको ठेक्का कुनै पुरानो वा नयाँ राजनीतिक दलले लिन नहुने बताए। लोकतन्त्रको रक्षा गर्ने अन्तिम शक्ति जनता नै भएको उनको भनाइ थियो।
‘लोकतन्त्रको रक्षा हामीले नै गर्छौँ भनेर पूरै ठेक्कापट्टा लिने काम नगर्नुहोस्। लोकतन्त्रलाई खतरा छैन, खतरा भए जोगाउने जनता छन्। जनताले जोगाउँछन्,’ लामिछानेले भने।
लोकतान्त्रिक व्यवस्थामा विधि र प्रक्रियाको स्थापना महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले आफूहरू पनि त्यसैअनुसार अघि बढ्ने बताए। जनताको मतबाट प्राप्त सरकारलाई राजनीतिक दबाब वा आन्दोलनका नाममा अस्थिर बनाउने प्रयास उचित नहुने उनको संकेत थियो।
लामिछानेले सरकार ढाल्ने उद्देश्यले आन्दोलनको चेतावनी दिनेसमेत आग्रह गरे। सरकार ढल्ने हल्ला पटक–पटक फैलाइए पनि त्यसले सरकारको भविष्य निर्धारण नगर्ने उनको भनाइ थियो।
सरकार परिवर्तनको अधिकार राजनीतिक दलको दबाब, सडकको हल्ला वा राजनीतिक अनुमानमा नभई जनताको मतमा निर्भर रहने लामिछानेले बताए। आगामी निर्वाचनमा जनताले आफ्नो निर्णय सुनाउने र त्यसलाई सबैले स्वीकार गर्नुपर्ने उनको धारणा थियो।
लामिछानेको अभिव्यक्तिले कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा सरकारको स्थायित्व, जनमत र लोकतन्त्रको संरक्षणलाई लिएर सत्तापक्षको धारणा स्पष्ट रूपमा प्रस्तुत गरेको छ।