काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाका लागि १५औँ महाधिवेशनमा कुर्सी खाली राखिए पनि उनी सहभागी हुन नआएको बताएका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले देउवालाई महाधिवेशनमा ल्याउन पार्टीका नेताहरू कति पटकसम्म जाने र कसरी जाने भन्ने प्रश्नसमेत उठाए।
‘पूर्वसभापति शेरबहादुर देउवाका लागि कुर्सी खाली राखेका थियौँ । तर आउनुभएन । कति पटक जाने हो, लिन कसरी जाने हो ?’ थापाले भने।
उनले देउवाका लागि कुर्सी खाली राखिएको विषय गाउँगाउँसम्म पुर्याउनसमेत आग्रह गरे। ‘तपाईंले गाउँगाउँ गएर भन्दिनुहोला कि शेरबहादुर देउवाका लागि कुर्सी खाली राखिएको थियो,’ उनले भने।
थापाले पार्टीका केही नेता तथा साथीहरू कांग्रेसबाट बाहिरिएको प्रसंगसमेत उठाए। उनीहरू पार्टी छाडेर गएका हुन् कि कांग्रेसले नै उनीहरूलाई छाडेको हो भन्ने विषयमा अब स्पष्ट उत्तर दिनुपर्ने उनको भनाइ थियो।
‘केही साथीहरू छोडेर जानुभएको छ । उहाँहरूलाई कांग्रेसले छाडेको हो । यो पनि हामीले भन्नुपर्ने छ । यसको उत्तर अब दिनुपर्छ,’ थापाले भने।
सभापति थापाले नयाँ नेतृत्वसँगै कांग्रेसले विगतका गतिविधि र निर्णयको गम्भीर समीक्षा गर्नुपर्ने संकेत गरे। पार्टीलाई नयाँ ढंगले अघि बढाउन विगतका कमजोरी र विवादबारे स्पष्ट समीक्षा आवश्यक रहेको उनको भनाइ थियो।
उनले पार्टीभित्र रहेका सबैलाई समेट्दै अघि बढ्ने वातावरण बनाउनुपर्नेमा जोड दिए। साथै, पार्टीबाट बाहिरिएका नेता तथा कार्यकर्ताका सम्बन्धमा पनि कांग्रेसले स्पष्ट धारणा बनाउनुपर्ने बताए।
महाधिवेशनबाट नयाँ नेतृत्व चयनसँगै पार्टीलाई थप एकताबद्ध र प्रभावकारी बनाउने चुनौती कांग्रेससामु रहेको संकेत गर्दै थापाले विगतलाई समीक्षा गरेर नयाँ बाटो तय गर्नुपर्ने सन्देश दिएका छन्।