कञ्चनपुर- कृष्णपुर नगरपालिकाले नगर क्षेत्रभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई असोज ३० गतेसम्म विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छ।
नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले शुक्रबार सूचना जारी गर्दै शैक्षिक सत्र २०८३ को शैक्षिक क्यालेन्डरअनुसार असोज २५ गते घटस्थापनादेखि विद्यालय बिदा रहेको जनाएको छ।
तर, विद्यालयको लामो बिदा व्यवस्थापन गर्नुपर्ने भएकाले निर्धारित अवधिभन्दा अगाडिसम्म विद्यालय सञ्चालन गर्नुपर्ने अवस्था आएको नगरपालिकाले जनाएको छ।
शिक्षा नियमावली, २०५९ को दशौँ संशोधनमा विद्यालयको लामो बिदा ३० दिन कायम गरिएको व्यवस्था छ। सोही व्यवस्थाअनुसार बिदा समायोजन गर्न असोज ३० गतेसम्म विद्यालय सञ्चालन गर्न निर्देशन दिइएको हो।
नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाकी वरिष्ठ शाखा अधिकृत अनिता ठगुन्नाले जारी गरेको पत्रमा नगर क्षेत्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई तोकिएको अवधिसम्म विद्यालय सञ्चालन गरी बिदा व्यवस्थापन गर्न अनुरोध गरिएको छ।
नगरपालिकाले शैक्षिक क्यालेन्डर र प्रचलित नियमअनुसार विद्यालय सञ्चालन तथा बिदा व्यवस्थापन गर्न सम्बन्धित विद्यालयलाई आग्रह गरेको छ।
यस निर्णयसँगै घटस्थापनापछि विद्यालय बन्द हुने अपेक्षामा रहेका विद्यार्थी तथा अभिभावकले असोज ३० गतेसम्म विद्यालय सञ्चालन हुने विषयमा ध्यान दिनुपर्ने भएको छ।
नगरपालिकाले विद्यालय बिदा तथा सञ्चालनसम्बन्धी व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित विद्यालय प्रशासनलाई निर्देशनसमेत दिएको छ।