काठमाडौँ- काठमाडौँको लाजिम्पाटस्थित रानीदेवी माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १० की छात्रा वेविसा मगराती ‘शिक्षा पत्रकार समूह नवप्रवर्तन पुरस्कार’बाट सम्मानित भएकी छन्।
शिक्षा पत्रकार समूहको २७औँ वार्षिक साधारणसभाका अवसरमा सोमबार मगरातीलाई नवप्रवर्तन तथा सिर्जनात्मक गतिविधिमा पुर्याएको योगदानका लागि उक्त पुरस्कार प्रदान गरिएको हो।
विद्यार्थी उमेरमै नवप्रवर्तन र सिर्जनात्मक कार्यमा सक्रिय मगरातीले विद्यालयमा आयोजित शैक्षिक सामग्री प्रदर्शनमा आफ्नो सिर्जना प्रस्तुत गरेकी थिइन्। अन्तर्राष्ट्रिय विज्ञान दिवसका अवसरमा रानीदेवी माध्यमिक विद्यालयले ५३ वटा स्टलसहितको शैक्षिक सामग्री प्रदर्शन आयोजना गरेको थियो।
उक्त प्रदर्शनमा मगरातीले प्रस्तुत गरेको सिर्जनात्मक कार्यले नवप्रवर्तनप्रतिको उनको रुचि र क्षमता उजागर गरेको विद्यालयले जनाएको छ। विद्यार्थीको प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले शिक्षा पत्रकार समूहले उनलाई नवप्रवर्तन पुरस्कार प्रदान गरेको हो।
पुरस्कार प्राप्त गरेपछि विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद गौतमले शिक्षा पत्रकार समूहकी अध्यक्ष निर्जला कक्षपति लगायत सम्पूर्ण पदाधिकारी तथा सदस्यप्रति आभार व्यक्त गरे।
प्रधानाध्यापक गौतमले विद्यार्थीलाई विज्ञान, प्रविधि, नवप्रवर्तन तथा अनुसन्धानका क्षेत्रमा अघि बढाउन विद्यालयले निरन्तर प्रोत्साहन गर्दै आएको बताए। उनले विद्यार्थीको प्रतिभा पहिचान गरी सम्मान गर्ने यस्ता कार्यक्रमले उनीहरूमा थप आत्मविश्वास र सिर्जनशीलता विकास हुने धारणा राखे।
मगरातीलाई नवप्रवर्तनका क्षेत्रमा अघि बढ्न प्रेरित गर्ने विद्यालयका विज्ञान शिक्षकद्वय टेकबहादुर विश्वकर्मा र नारायण खनालप्रति पनि प्रधानाध्यापक गौतमले उच्च सम्मान व्यक्त गरे।
उनका अनुसार विद्यार्थीको सिर्जनशीलता र प्रतिभालाई समयमै पहिचान गरी अवसर र प्रोत्साहन दिन सके विद्यालयस्तरबाटै अनुसन्धान तथा नवप्रवर्तनको संस्कृति विकास गर्न सकिन्छ।
शिक्षा पत्रकार समूहबाट प्राप्त सम्मानले विद्यार्थीलाई आगामी दिनमा अझ नयाँ सिर्जना र अनुसन्धानतर्फ अघि बढ्न प्रेरणा मिल्ने विद्यालयको विश्वास छ।