काठमाडाैँ - चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयको पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान सङ्कायमा ‘बायोसेफ्टी लेभल टु प्लस’ प्रयोगशाला निर्माण गरिएको छ। प्रयोगशालाको बागमती प्रदेश सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका मन्त्री प्रकाश श्रेष्ठले उद्घाटन गरेका हुन्।
प्रदेश सरकारको १५ करोडको आर्थिक सहयोगमा बनेको प्रयोगशाला मन्त्री श्रेष्ठले विश्वविद्यालयका उपकुलपति प्रा.डा. शारदा थपलियालाई हस्तान्तरण गरेका हुन्। कार्यक्रममा मन्त्री श्रेष्ठले विश्वविद्यालयमा निर्माण सम्पन्न भएको प्रयोगशाला भवन बागमती प्रदेश सरकारको गौरवको योजना रहेको बताए।
मन्त्री श्रेष्ठले बागमती प्रदेशका ६ लाख किसानसहित देश भरिका किसानले यसबाट लाभ लिनसक्ने बताए। प्रयोगशालामा गरिने अनुसन्धानबाट प्राप्त नतिजालाई व्यवहारमुखी बनाउने चुनौतीलाई सामना गर्न समेत प्रदेश सरकारले सहकार्य गर्ने उनले बताए।
कार्यक्रममा बागमती प्रदेश सरकारका वन मन्त्री कृष्णप्रसाद सिलवालले रोगका असर र रोकथामका विधि तयार गर्न प्रयोगशाला उपयोग हुने बताए। प्रविधिको प्रयोगले प्रयोगशाला निर्माणको उद्देश्य प्राप्तिमा सहयोग पुग्ने बताउँदै मन्त्री सिलवाललले विश्वविद्यालयमा पढाउने, अनुसन्धान गर्ने र किसानलाई समाधानका उपायहरु बाँड्न सफलता मिल्ने विश्वास व्यक्त गरे।
प्रयोगशाला पशुपन्क्षी एवम् खेतीबालीमा देखिने रोग, किराको सुक्ष्म परीक्षणका लागि उच्चस्तरको विशिष्टिकृत सुरक्षा व्यवस्थासहित निर्माण गरिएको छ। ढुसी, ब्याक्टेरिया, भाइरसको सुक्ष्म अध्ययन, अनुसन्धानका लागि प्रयोगशाला बहुउपयोगी रहने विश्वविद्यालयका उपकुलपति प्रा.डा. शारदा थपलियाले बताए।
प्रयोगशालाको अधिकतम उपयोग गर्नका लागि विश्वविद्यालयमा सक्षम जनशक्ति रहेको छ। उनले भने,‘नयाँ प्रयोगशाला भवन पूर्ण रुपमा बायोसेक्युरीटीसहित बनेको छ। अहिले विश्वविद्यालयमा रहेकै मेशिनको प्रयोगबाट अगाडि बढ्नेछौँ।’ प्रयोगशालालाई सञ्चालनका आवश्यक थप नयाँ मेशिनहरु खरिदका लागि पाँच करोड रुपैयाँ लाग्ने भएकाले त्यसका लागि प्रदेश सरकारसँग सहकार्य गरिने जानकारी दिए। प्रयोगशाला सञ्चालनका लागि कार्यविधिको मस्यौदा तयार भइसकेको र त्यसलाई अन्तिम रुप दिने कार्य भइरहेको उपकुलपति प्रा.डा. थपलियाले बताए।
समुद्घाटन कार्यक्रममा बागमती प्रदेशका पूर्व मन्त्री दावा दोर्जे लामा, विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा.पुष्करबहादुर पाल, पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान सङ्कायका डीन प्रा.डा. भूमिनन्द देवकोटा लगायतले मन्तव्य राखे।