काठमाडाैँ - काठमाडौँ विश्वद्यिालय (केयू) को दोस्रो चरणअन्तर्गतको ३० औँ दीक्षान्त समारोहमा १ हजार १२९ विद्यार्थी दीक्षित हुने भएका छन्। शुक्रबार आयोजना हुने दीक्षान्त समारोहको प्रधमनमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अध्यक्षमा गरिने भएकाे हाे।
यस दीक्षान्त समारोहमा अमेरिकास्थित माउन्ट साइनाई हेल्थ सिस्टम्सका प्रमुख कार्यकारी अधिकृत बेन्डन जीकारको प्रमुख आतिथ्य र शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको समुपस्थिति कार्यक्रम आयोजना हुने भएकाे छ।
समारोहमा केयूबाट स्कुल अफ आर्टसका १ सय ६३, स्कुल अफ एजुकेसनका एक सय दुई, स्कुल अफ इञ्जिनियरिङका ६८, स्कुल अफ मेनेजमेन्टका एक सय १०, स्कुल अफ मेडिकल साइन्सेजका छ सय ६१ र स्कुल अफ साइन्सका २५ जना विद्यार्थी दीक्षित हुने केयूका प्रवक्ता एक्कुमाया पुनले जानकारी दिइन्।
उनका अनुसार विश्वविद्यालयका आर्टस्, एजुकेसन, इञ्जिनियरिङ, मेनेजमेन्ट, मेडिकल साइन्सेज र साइन्स सङ्कायका पिएचडी तहका १४, डिएम तहका आठ, एमसिएच तहका १०, एमफिल तहका ६९, स्नातकोत्तरका पाँच सय १३, पिजिडी तहका चार र स्नातक तहका पाँच सय १९ जना दीक्षित हुनेछन्।
दीक्षित हुनेमध्ये ५० दशमलव ९३ प्रतिशत पुरुष र ४९ दशमलव शून्य सात प्रतिशत महिला रहेका छन्। यस्तै दीक्षित हुने विदेशी विद्यार्थी भुटान, भारत, श्रीलङ्का र माल्दिभ्सका गरी एक सय १८ जना रहेका प्रवक्ता पुनले जानकारी दिइन्।