काठमाडाैँ - त्रिभुवन विश्वविद्यालयले यसअघि जारी गरेको विभिन्न अध्ययन संस्थान तथा संकायका स्नातक र स्नातकोत्तर तहको शैक्षिक वर्ष २०८२ को वार्षिक शैक्षिक पात्रो सार्वजनिक गरेको छ। त्रिवि कार्यकारी परिषद्ले स्वीकृत गरेर कार्यान्वयनमा ल्याएको उक्त पात्रो हालै सार्वजनिक गरिएको हो।
जेनजी समूहको आन्दोलनका कारण यसअघि सार्वजनिक भएको शैक्षिक पात्रो नै भताभुङ्ग भएपछि त्रिवि दबाबमा परेको छ। पछिल्लो समय सार्वजनिक भएको तालिका अनुसार वार्षिक प्रणालीमा पढाइ हुने स्नातक तह पहिलो वर्षका विद्यार्थीको पढाइ आगामी मङ्सिरबाट सुरु हुने छ। ती विद्यार्थीको चौथो वर्षको पढाइ २०८५ मङ्सिर महिनाभित्रमा सक्ने गरी त्रिविले तालिका सार्वजनिक गरेको छ। चैाथो वर्षका विद्यार्थीका परीक्षाको नतिजा २०८५ चैत महिनाभित्रमा सार्वजनिक भइसक्नुपर्ने छ।
अहिले वार्षिक प्रणाली अनुसार भर्ना हुने स्नातक तहका विद्यार्थीको पढाइ चार वर्षको हुन्छ। नयाँ तालिका अनुसार पहिलो वर्ष भर्ना भएका विद्यार्थीको चौथो वर्षको पढाइ तीन वर्षभित्रमा सम्पन्न गर्नुपर्ने बाध्यतामा त्रिवि परेको छ। दोस्रो र तेस्रो वर्षको पढाइ पनि हतारमा सक्ने गरी तालिका सार्वजनिक भएको छ।
त्यस्तै सेमेस्टर प्रणाली अनुसार स्नातक तहको पढाइ हुने अध्ययन संस्थान र क्याम्पसमा स्नातक तह पहिलो सेमेस्टरको पढाइ आगामी मङ्सिर महिनाबाट सञ्चालन हुने छ। कात्तिक महिनाभित्रमा अध्ययन संस्थान र क्याम्पसले प्रवेश परीक्षा सञ्चालन, भर्नालगायतका काम गर्नुपर्ने छ। मङ्सिरमा पहिलो सेमेस्टरमा भर्ना भएका विद्यार्थीको परीक्षा आगामी चैतमा हुने छ। उनीहरूको नतिजा २०८३ असारमा सार्वजनिक हुने छ। सेमेस्टर परीक्षाको नतिजा प्रकाशन भएको दुई महिनाभित्रमा मौका परीक्षा सञ्चालन गर्ने पनि त्रिविले जनाएको छ।
नयाँ शैक्षिक क्यालेन्डर अनुसार स्नातकोत्तर तह प्रथम सेमेस्टरमा भर्ना हुनका लागि आगामी मङ्सिरमा आवेदन आह्वान गरिने छ भने पुसमा प्रवेश परीक्षा सञ्चालन हुने छ। त्यस्तै प्रथम सेमेस्टरको पढाइ माघबाट सुरु हुने छ। प्रथम सेमेस्टरको परीक्षा २०८३ असारमा हुने छ। पात्रो अनुसार स्नातक तह अन्तर्गत चौथो सेमेस्टरको पढाइ सञ्चालन र परीक्षा सम्पन्न भएर २०८४ मङ्सिरमा नतिजा प्रकाशन हुने छ। शैक्षिक पात्रो अनुसार वार्षिक प्रणाली अनुसार पढाइ सञ्चालन हुने विषयको परीक्षा सञ्चालन भएको तीन महिनाभित्रमा नतिजा सार्वजनिक गर्नुपर्ने छ। यसअघि त्रिविमा परीक्षा सकिएको लामो समयसम्म पनि नतिजा सार्वजनिक गर्न नसकेको आरोप लाग्दै आएको छ।
जेनजी समूहको आन्दोलनका कारण शैक्षिक पात्रो अनुसार सञ्चालन गर्नुपर्ने वार्षिक र सेमेस्टर प्रणाली अनुसारको परीक्षा स्थगित भएका कारण पात्रो नै संशोधन गर्नुपर्ने अवस्था आएको त्रिविले जनाएको छ। सोही आन्दोलनका कारण त्रिविले स्नातक तहमा नयाँ भर्नाका लागि प्रवेश परीक्षासमेत सञ्चालन गर्न सकेको थिएन। त्यस्तै स्नातक र स्नातकोत्तर तहका केही वर्ष र सेमेस्टरका सञ्चालन भइरहेका केही विषयका परीक्षा पनि रोकिएको थियो।
जेनजी समूहको आन्दोलनका क्रममा प्रहरी चौकीमा आगजानी हुँदा परीक्षा सम्पन्न भइसकेका केही विषयका उत्तरपुस्तिकासमेत जलेका थिए। ती विषयका परीक्षा फेरि सञ्चालन गर्नुपर्ने छ। त्यस्तै स्नातक तह प्रथम वर्षमा भर्ना हुनका लागि प्रवेश परीक्षा सञ्चालनमा पनि ढिलाइ भएको थियो।
यस्ताे छ शैक्षिक पात्रो :