काठमाडौँ - कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा नेपाल प्रिमियर लिग (एनपीएल) हेर्न पुगेका दर्शकसँग कीर्तिपुर समाजका नाममा अनधिकृत रूपमा पार्किङ शुल्क असुलेको पाइएको छ। एनपीएलका लागि त्रिविको जग्गा, सार्वजनिक स्थल र सडक आसपास निःशुल्क पार्किङको व्यवस्था गरिएको भए पनि समाजले युवाहरूलाई खटाएर सोमबारदेखि नै प्रतिमोटरसाइकल एक सय र प्रतिगाडी १ सय ५० को दरले शुल्क उठाइरहेको छ।
‘कीर्तिपुर विकास समाज कीर्तिपुर- ११ काठमाडौँ’ लेखेको रसिद लिएर युवाहरू पार्किङ स्थलमा शुल्क उठाउन खटिएका छन्। ‘संकलित रकम भदौ २३ र २४ को प्रदर्शनमा क्षति भएका सार्वजनिक संरचनाहरू मर्मत तथा पुनर्निर्माण कार्यमा खर्च गरिनेछ। तर सवारीसाधनको सुरक्षाको जिम्मेवारी सवारी धनी स्वयंको हुनेछ,’ रसिदमा लेखिएको छ।

स्थानीयले उपकुलपति र रजिस्ट्रारसँग मौखिक सहमति लिएर पार्किङको शुल्क उठाएको भन्ने जानकारी आएको छ। यदि अनुमति नलिई अनधिकृत रूपमा उठाइएको रहेछ भने हामी कारबाही गर्छौं : पवन भट्टराई, काठमाडौं प्रहरी प्रवक्तात्यहाँ खटिएका युवाले कीर्तिपुर नगरपालिकाका मेयरको निर्देशनमा पार्किङ शुल्क उठाएको बताए।
मेयर कृष्णमान डंगोलले शुल्क उठाउन निर्देशन नदिए पनि सरसल्लाहचाहिँ भएको स्वीकार गरे। ‘स्थानीय युवाले पार्किङ शुल्क उठाएर आन्दोलनमा जलेको वडा कार्यालय भवन बनाउँछु भनेका छन्। मैले राजस्व कार्यालय र नगरपालिकामा संस्था दर्ता गरेर काम गर भनेको थिएँ। म बाहिर छु के भयो थाहा छैन,’ उनले भने। नीति, नियममा बसेर शुल्क उठाउन भने पनि दर्ता भए/नभएको विषयमा जानकारी नभएको मेयर डंगोलले जनाए।
विश्वविद्यालयको जग्गामा मोटरसाइकल, गाडीलगायत सवारीसाधन पार्किङ गरेको शुल्क उठाएको भन्दै दर्शकहरूले आलोचना गरेका छन् । त्रिविका प्राध्यापक, कर्मचारी र विद्यार्थीले असन्तुष्टि जनाएका छन्।
प्रहरी प्रवक्ता पवनकुमार भट्टराईले पार्किङका विषयमा जानकार रहे पनि उजुरी र गुनासो नआएको बताए। ‘स्थानीयले उपकुलपति र रजिस्ट्रारसँग मौखिक सहमति लिएर पार्किङको शुल्क उठाएको भन्ने जानकारी आएको छ। यदि अनुमति नलिई अनधिकृत रूपमा उठाइएको रहेछ भने हामी कारबाही गर्छौं,’ भट्टराईले भने। त्रिवि उपकुलपति दीपक अर्यालले पार्किङ शुल्कका विषयमा जानकारी नभएको बताए। ‘पार्किङ शुल्क उठाउने विषयमा आयोजक नेपाल क्रिकेट संघ (क्यान) र नगरपालिकासँग कुनै कुराकानी पनि भएको छैन,’ उनले भने।
गत वर्ष पनि त्रिवि केन्द्रीय क्याम्पस स्ववियु र आयुर्वेद क्याम्पस कीर्तिपुर स्ववियुले एनपीएल हेर्न आएका दर्शकसँग पार्किङ शुल्क उठाएको थियो। तर, आलोचना भएपछि शुल्क उठाउन स्थगित गरिएको थियो। २०५९ मा नेपाल क्रिकेट संघ (क्यान) ले त्रिविसँग सम्झौता गरेर क्रिकेट मैदान प्रयोग गर्दै आएको छ। सम्झौता २०८३ वैशाख मसान्तसम्म बाँकी छ। क्यानले मैदान भाडामा लिए पनि त्यसमा पूर्वाधार निर्माणलगायतका काममा सरकारले पनि सघाउँदै आएको छ। क्यानले जग्गा भाडाबापत ६ लाख, छात्रवृत्तिका लागि २ लाख र त्रिवि खेलकुदका लागि १ लाख गरी वार्षिक ९ लाख त्रिविलाई बुझाउँदै आएको छ। यसको अतिरिक्त त्रिवि विद्यार्थी कल्याण र केन्द्रीय क्याम्पस स्ववियुले क्यानसँग २५ लाख चन्दा लिने सम्झौता भएको छ।