काठमाडाैँ - अर्थमन्त्री रामेश्वर खनालले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय आफ्नो कार्यकालमै सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन्। सुदूरपश्चिम महोत्सव उद्घाटनका लागि धनगढी आइपुगेका मन्त्री खनालले निर्माण सम्पन्न भएर पनि विश्वविद्यालय सञ्चालनमा नआउनु दुर्भाग्यपूर्ण भएको बताए।
विश्वविद्यालय सञ्चालनका लागि आवश्यक नियुक्ति तथा प्रक्रिया तत्काल अघि बढाइने उनको भनाइ छ। ‘कार्यविधि नै परिवर्तन गरेर भए पनि विश्वविद्यालय चाँडो सञ्चालनमा ल्याउने प्रयास गर्छौं,’ उनले भने। अर्थमन्त्री खनालले विश्वविद्यालय सञ्चालन शिक्षामन्त्रालयको क्षेत्राधिकारमा पर्ने भए पनि आफू त्यसबारे पन्छिन नसक्ने बताए। उनले भने,‘शिक्षामन्त्रीसँग नियमित सम्पर्कमा रही विश्वविद्यालयलाई सकेसम्म पूर्ण क्षमतामा सञ्चालनमा ल्याउनेछु।’
उनले सुदूरपश्चिममा ठूला आयोजना न्यून मात्रामा रहेको उल्लेख गर्दै, सम्पन्न योजनासमेत सरकारी उपेक्षाका कारण सञ्चालनमा आउन नसकेको टिप्पणी गरे। ‘यहाँको भूगोल, प्राकृतिक तथा सांस्कृतिक सम्पदा र जनसङ्ख्याअनुरूप विकासको गति तीव्र हुनुपर्ने हो तर सरकारले प्राथमिकता नदिँदा सुदूरपश्चिम पछाडि पर्यो,’ खनालले भने।
अर्थमन्त्री खनालले विद्युत उत्पादन र पर्यटन क्षेत्रमा सुदूरपश्चिममा ठूलो सम्भावना रहे पनि यसको उपयोगमा राज्य पक्ष अघिबढ्न नसकेको उल्लेख गरे। आफ्नो कार्यकालमा दोधारा-चाँदनी सीमा नाका सम्पन्न गर्ने तथा ठूला आयोजनाको आधारशिला तयार पार्ने लक्ष्य रहेको उनले बताए।
यसैबीच, महोत्सव आयोजक कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर राज ओझाले महोत्सवले प्रदेशको सामाजिक, आर्थिक र पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको बताए। उनका अनुसार महोत्सवले उद्योगी-व्यवसायीलाई प्रोत्साहन गर्दै सुदूरपश्चिमको अर्थतन्त्र उकास्ने भूमिका खेलेको छ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले देशकै ‘सबैभन्दा ठूलो पर्यटन पूर्वाधार’ सुदूरपश्चिममै रहेको दाबी गरे।
लम्कीचुहा नगरपालिकामा निर्माण भइरहेको राजकाँडा-चिसापानी केबलकार आगामी वैशाखदेखि सञ्चालनमा आउने जानकारी दिँदै उनले पर्यटन विकासमा यसले ठूलो टेवा पुर्याउने विश्वास व्यक्त गरे।