काठमाडौँ - धनगढीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको पहिलो उपकुलपतिका लागि तेस्रो पटक आवेदन माग गर्दा दुई जनाको मात्र दरखास्त परेको छ।समितिले २८ मंसिरभित्र आवेदन पेस गर्न २३ मंसिरमा पाँच दिनको म्याद दिएर तेस्रो पटक सूचना जारी गरेको थियो।
उपकुलपति एवम् रजिस्ट्रार छनोट तथा सिफारिस समितिका संयोजक जयराज अवस्थीले उपकुलपतिका लागि केही आवेदन परेको र त्यसको रुजु हुन बाँकी रहेको बताए।दुई पटकसम्म आवेदन नपरेपछि शिक्षामन्त्री महावीर पुनले समेत उपकुलपति बन्न चाहने व्यक्ति सम्पर्कमा आउन सामाजिक सञ्जालबाट आह्वान गरेका थिए। ‘उपकुलपतिका लागि केही आवेदन परेको छ। सिलबन्दी गरेर आवेदन दिएकाले खोलेका पनि छैनौँ,’ उनले भने, ‘रजिस्ट्रारका लागि १० जनाको आवेदन परेको थियो। रुजु सकेर सर्स्टलिस्ट सार्वजनिक गर्ने तयारीमा छौँ।’
सिफारिस समितिले उपकुलपतिका लागि १६ कात्तिकमा पहिलो पटक र ३० कात्तिकमा दोस्रो पटक दरखास्त आह्वान गरेको थियो। तर, एउटा पनि दरखास्त नपरेपछि २३ मंसिरमा समितिले तेस्रो पटक सूचना जारी गर्दै २८ मंसिरसम्म दरखास्त पेस गर्न समय थप गरेको थियो। ‘उपकुलपति पदको दुई पटक विज्ञापन गर्दा पनि कसैको निवेदन परेन। त्यसैले मातृभूमिलाई सेवा गर्ने उद्देश्यले स्वास्थ्य क्षेत्रमा प्राध्यापक तथा विद्यावारिधि भई काम गरेको नेपाल आमाको कोही इच्छुक देशभक्त सन्तानले कृपया निवेदन दिनुहोस्। वा मलाई नै सम्पर्क गर्नुहोस्,’ शिक्षामन्त्री पुनले सार्वजनिक रूपमा आह्वान गरेका थिए।
विश्वविद्यालय ऐनमा तोकिएको उपकुलपतिको योग्यता उपर्युक्त नभएको कारण दरखास्त नपरेको भन्दै सरोकारवालाहरूले आलोचना गरेका थिए। संघीय संसद्बाट पारित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, ४ असार २०८२ मा राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका थिए। त्यसपछि उपकुलपति, रजिस्ट्रारलगायत पदाधिकारी नियुक्तिको प्रक्रिया थालिएको थियो।
उपकुलपतिका लागि न्यूनतम योग्यतामा चिकित्सा शिक्षासँग सम्बन्धित विषयमा विद्यावारिधि, डीएम, एमसीएच वा सोसरहको उपाधि प्राप्त गरेको हुनुपर्ने तोकिएको छ। प्राध्यापक पदमा कम्तीमा १० वर्षदेखि काम गरेको, ३५ वर्ष पूरा भई ६१ वर्ष पूरा नगरेको हुनुपर्ने तोकिएको छ।
रजिस्ट्रारका लागि ललितपुरका चन्द्रप्रकाश भट्ट, धनुषाका प्रमोदकुमार यादव, बझाङका डबलबहादुर धामी, कञ्चनपुरका खेमराज जोशी, कैलालीका शिवप्रसाद सापकोटा, कञ्चनपुरका डमरु पनेरु, बैतडीका गोविन्द सिंह बिष्ट, बैतडीका भीमबहादुर चन्द, कैलालीका पदमराज जोशी र बाराबाट शिला मैनालीको आवेदन परेको सिफारिस समितिले जनाएको छ। यीमध्येबाट ‘सर्टलिस्ट’ बनाई सिफारिस प्रक्रिया अघि बढाइनेछ। उपकुलपति र रजिस्ट्रार नियुक्तिको सिफारिसका लागि सरकारले अवस्थीको संयोजकत्वमा भारती जोशी र दीपक महरा सदस्य रहेको समिति गठन गरेको छ। अवस्थी सुदूरपश्चिम विश्वविद्यालयका पूर्वउपकुलपति हुन् भने जोशी र महरालाई विज्ञ सदस्यका रूपमा नियुक्त गरिएको हो।
रजिस्ट्रारका लागि भने जुन कुनै विषयमा स्नातकोत्तर गरेको हुनुपर्ने शैक्षिक योग्यता तोकिएको छ। उच्चशिक्षामा प्राध्यापन, प्राज्ञिक अनुसन्धान, स्वास्थ्य सेवा कार्यकारी प्रशासन, सरकारको पूर्वसचिव वा सो सरहको पदमा पाँच वर्षको कार्यानुभव भएको हुनुपर्नेछ। समितिले उपकुलपति र रजिस्ट्रार छनोट तथा सिफारिससम्बन्धी कार्यविधि जारी गरेर प्रक्रिया अघि बढाएको छ।