काठमाडौँ - मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय (एम्बस्ट)ले आफ्नो पहिलो दीक्षान्त समारोह यही माघ २५ मा आयोजना गर्ने भएको छ।
चित्लाङस्थित आफ्नै परिसरमा आयोजना हुने यस समारोहमा विश्वविख्यात शिक्षाविद् तथा वैज्ञानिकहरुको सहभागी हुने विश्वविद्यालयले जानकारी दिएको छ। समारोहका प्रमुख अतिथि उच्च शिक्षाका ख्यातिप्राप्त विज्ञ डा. जमिल साल्मी छन्।
उनले विश्व बैंकको उच्च शिक्षा संयोजक, डिएगो पोर्टल्स विश्वविद्यालय चिलीमा उच्च शिक्षा नीतिका सम्मानित प्राध्यापक र संयुक्त राज्य अमेरिकाको बोस्टन कलेजको अन्तर्राष्ट्रिय उच्च शिक्षा केन्द्रका अनुसन्धान फेलो रहेर चार दशकभन्दा लामो अनुभव हासिल गरेका छन्। समारोहको विशेष अतिथिका रूपमा क्यानडाकी प्रा. सुजन फोर्टियर र सिंगापुरका प्रा. सीराम रामकृष्ण हुनेछन्।
म्याकगिल विश्वविद्यालयकी उपकुलपति एवं क्यानडाको प्राकृतिक विज्ञान तथा इन्जिनियरिङ अनुसन्धान परिषद्की अध्यक्ष रहेकी प्रा. फोर्टियर अनुसन्धान र नवप्रवर्तनमा योगदानका लागि परिचित छन्। प्रा. रामकृष्ण इलेक्ट्रो स्पिनिङ र न्यानो प्रविधिका अग्रणी वैज्ञानिक छन् र हाल चीनको सिन्ह्वा विश्वविद्यालयका चेयर प्रोफेसर तथा चिनिया विज्ञान प्रतिष्ठान (कास) का प्राज्ञ पनि हुन्।
उनीहरु दुवै एम्बस्ट बोर्ड अफ ट्रस्टिजमा छन्। दीक्षान्त समारोहको सभापतित्व विश्वविद्यालय बोर्ड अफ ट्रस्टिजका अध्यक्ष पद्म ज्योतिले गर्नेछन्। २०७९ सालमा यो विश्वविद्यालय स्थापना भएको हो।
समारोहमा विश्वविद्यालयका अध्यक्ष (प्रेसिडेन्ट) डा. राजेन्द्रध्वज जोशीले स्वागत मन्तव्यको क्रममा उद्योग तथा राष्ट्रिय अर्थतन्त्रको विकासमा विश्वविद्यालयले कसरी काम गर्दैछ भन्ने विषयमा प्रकाश पार्नेछन्।
त्रिवि इन्जिनियरिङ अध्ययन संस्थानमा प्राध्यापक र डीनसमेत रहेका डा. जोशीले विश्व बैंक र यूएनडीपीमा शिक्षाविद् तथा वरिष्ठ सल्लाहकारको रूपमा लामो अनुभव हासिल गरेका छन्।