काठमाडाैँ- अखिल क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीको कुर्सीमा विभिन्न पर्चा टाँसेको छ। त्रिविका चार वटा विभागको शुल्क घटाउनुपर्ने माग राखेर आन्दोलन गरिरहेको क्रान्तिकारीले उपकुलपति प्रा.डा. दिपक अर्याल र रजिस्ट्रार प्रा.डा. केदार प्रसाद रिजालको कुर्सीमा पर्चा टाँसेको हो।
केही दिनअघि शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसीको कार्यकक्षमा तोडफोडसमेत भएको थियो। तर अखिल क्रान्तिकारीले बिहीबार विरोध र दबाबका लागि ‘सांकेतिक’ आन्दोलन गरेको जनाएको छ। ‘वार्ता र छलफलका लागि कुर्यौँ तर कनै पहल गरेको छैन। त्यसको विरोध स्वरुप सांकेतिक आन्दोलन गरेका हौँ,’ अखिल क्रान्तिकारी त्रिवि अध्यक्ष दिनेश ऐरले भने।
त्रिविका अधिकारीहरू विद्यार्थी संगठनले पदाधिकारीको कुर्सीमा अपशब्द टाँसेर दुर्व्यवहार गरेको दाबी गर्छन्। ‘पदाधिकारी सरको कार्यकक्षमा आएर जथाभावी लेखेर गए। यो त दुर्व्यवहार हो,’ त्रिवि केन्द्रीय कार्यालयका एक अधिकारीले भने, ‘विद्यार्थीबाट पदाधिकारी/ कर्मचारी डराउनु पर्ने अवस्था छ।’
अखिल क्रान्तिकारीले पनि आफूहरूमाथि प्रशासन लगाएको आरोप लगाएको छ। ‘हाम्रो साथीलाई प्रहरी लगाएर गिरफ्तार गरियो। दुई तीन घण्टा राखेर छोडियो,’ ऐरले भने।
मानविकी संकाय अन्तर्गतका चारवटा सेल्फ–सस्टेन प्रोग्राम केन्द्रीय विभागमा ल्याएपछि सहमति अनुसार शुल्क समायोजन नभएको उनको भनाइ छ। त्रिवि प्रशासनका अनुसार शुल्क पुनरावलोकन गर्न कार्यदल गठन भइसकेको छ।
मानविकी तथा सामाजिक शास्त्र संकाय अन्तर्गतका अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति, लैंगिक अध्ययन, सामाजिक कार्य र द्वन्द्व शान्ति तथा विकास अध्ययनको शुल्क घटाउन क्रान्तिकारीको माग छ।
यसअघि पदाधिकारीको कार्यकक्षमा क्रान्तिकारीले ताला लगाएको थियो। तर सर्वोच्च अदालतको आदेश अनुसार प्रहरी प्रशासनले ताला खोलेको थियो। ताला खोले पनि क्रान्तिकारीले प्रवेशमा रोक लगाएकाले पदाधिकारीहरु आफ्नो कार्यकक्ष जान पाएका छैनन्।