काठमाडौँ - प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी भक्तपुरले डिप्लोमा तथा प्रमाणपत्र तहका विभिन्न कार्यक्रमको नियमित तथा आंशिक परीक्षाका लागि परीक्षा केन्द्र कायम गरिएको अत्यन्त जरुरी सूचना सार्वजनिक गरेको छ।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार परिषद् अन्तर्गतका आंगिक, सामुदायिक तथा निजी शिक्षालयहरूमा सञ्चालन भइरहेका डिप्लोमा इन इन्जिनियरिङ, होटल म्यानेजमेन्ट, फुड एन्ड डेरी टेक्नोलोजी, सोशल वर्क, इन्टरप्रेनरशिप डेभलपमेन्ट, ब्युटी एन्ड कस्मेटोलोजी, फेसन डिजाइन तथा कृषि (बाली विज्ञान र पशु विज्ञान) लगायतका कार्यक्रमका प्रथम वर्ष, दोस्रो वर्ष र तेस्रो वर्षका नियमित तथा आंशिक परीक्षाहरू सञ्चालन गरिनेछ।
त्यसैगरी विशेष छात्रवृत्ति कार्यक्रम अन्तर्गतका डिप्लोमा इन सिभिल, अटोमोबाइल, जियोमेटिक्स, इलेक्ट्रिकल, रेफ्रिजेरेसन एन्ड एयर कन्डिसनिङ, सूचना प्रविधि, बायोमेडिकल, इलेक्ट्रोनिक्स इन्जिनियरिङ, होटल म्यानेजमेन्ट, इन्टरप्रेनरशिप डेभलपमेन्ट तथा कृषि कार्यक्रमका परीक्षाहरू पनि सोही तालिका अनुसार सञ्चालन हुने जनाइएको छ।
परीक्षा तालिका अनुसार सम्पूर्ण सैद्धान्तिक परीक्षाहरू २०८१ चैत २९ गते बिहान ७:०० बजेबाट सुरु हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। प्रदेश कार्यालयहरूको सिफारिसमा विभिन्न स्थानमा परीक्षा केन्द्र कायम गरिएको पनि सूचनामा उल्लेख छ।
परीक्षा केन्द्रहरूको विस्तृत सूची CTEVT Examination Control Office को आधिकारिक वेबसाइट www.ctevtexam.org.np मा हेर्न सकिने जनाइएको छ।
