काठमाडौँ- प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्(सिटिईभिटी) ले शैक्षिक सत्र २०८३ का लागि विद्यार्थी भर्ना प्रक्रियालाई थप सहज र व्यवस्थित बनाएको छ। परिषद्ले ‘प्रवेश प्रक्रिया, भर्ना तथा रजिस्ट्रेसनसम्बन्धी कार्य सञ्चालन मार्गदर्शन–२०८३’ जारी गरेसँगै शिक्षालयहरूलाई प्रवेश परीक्षा, भर्ना र रजिस्ट्रेसनमा थप अधिकार प्रदान गरिएको हो।
परिषद्का उपाध्यक्ष मोहमद साफीउल्लाले नयाँ मार्गदर्शन विद्यार्थी केन्द्रित रहेको बताउँदै विगतमा एसइईपछि प्राविधिक शिक्षातर्फ देखिने अन्योल र झन्झट अन्त्य हुने दाबी गरे। उनका अनुसार अब परिषद् वा प्रदेश कार्यालयहरूले प्रवेश परीक्षा, छनोट, भर्ना तथा सिफारिस कार्य गर्ने छैनन्। एसइई नतिजा सार्वजनिक भएको भोलिपल्टदेखि नै देशभरका शिक्षालयले भर्ना सूचना प्रकाशित गरी जिपिएका आधारमा विद्यार्थी भर्ना गर्न सक्ने व्यवस्था गरिएको छ।
मार्गदर्शनअनुसार सम्पूर्ण भर्ना प्रक्रिया तथा प्रशिक्षार्थी छनोट कार्य असार मसान्तभित्र सम्पन्न गरिसक्नुपर्ने व्यवस्था गरिएको छ। यसअघि एसइई सम्पन्न भएको लामो समयपछि मात्रै भर्ना खुल्ने, अन्यत्र अवसर नपाएका विद्यार्थी मात्र प्राविधिक शिक्षातर्फ आउने प्रवृत्ति रहेको भन्दै परिषद्ले त्यसलाई सुधार गर्न नयाँ नीति अघि सारेको जनाएको छ।
परिषद्का अनुसार अब सामुदायिक विद्यालयमा कक्षा ९ र १० मा जुनसुकै विषय वा धार अध्ययन गरेका विद्यार्थीले पनि परिषद्अन्तर्गतका प्राविधिक कार्यक्रम अध्ययन गर्न पाउनेछन्। यसले सिपमूलक तथा दक्ष जनशक्ति उत्पादनमा सहयोग पुग्ने विश्वास परिषद्को छ।
हाल देशभर परिषद्अन्तर्गत ६७ आंगिक शिक्षालय, ‘टेक’ कार्यक्रम सञ्चालन भएका ८६० सामुदायिक विद्यालय तथा ४५० सम्बन्धन प्राप्त शिक्षालय गरी कुल १ हजार ३७७ शिक्षालय सञ्चालनमा रहेका छन्। स्वास्थ्य तथा प्राविधिक शिक्षा क्षेत्रमा गरी करिब ७५ हजार सिट क्षमता भए पनि विगतमा जटिल भर्ना प्रक्रियाका कारण आधाभन्दा कम विद्यार्थी मात्रै भर्ना हुने गरेका थिए।