काठमाडौँ- प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरले विशेष छात्रवृत्ति कार्यक्रमअन्तर्गत डिप्लोमा-प्रमाणपत्र र प्रि-डिप्लोमा तहका कार्यक्रममा निःशुल्क अध्ययनका लागि अनलाइन आवेदन खुलाएको छ।
सूचनाअनुसार नेपाल सरकारको आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत बजेट तथा कार्यक्रमअन्तर्गत दलित, मुस्लिम, विपन्न, सीमान्तकृत समुदाय र प्राविधिक शिक्षाको पहुँच नपुगेका ७८ वटा स्थानीय तहमा स्थायी बसोबास गर्ने विद्यार्थीलाई लक्षित गरी कुल ४८० सिटमा छात्रवृत्ति खुलाइएको हो।
कुल सिटमध्ये डिप्लोमा -प्रमाणपत्र तहमा ४५७ जना र प्रि–डिप्लोमा तहमा २३ जना विद्यार्थीले अध्ययनको अवसर पाउनेछन्। आवेदन फाराम २०८३ असार ४ गते बिहीबारदेखि २०८३ असार १८ गते बिहीबार राति ११ः५९ बजेसम्म अनलाइनमार्फत भर्न सकिनेछ। यस विशेष छात्रवृत्तिका लागि आवेदन शुल्क लाग्ने छैन।
छनोटमा परेका विद्यार्थीले तोकिएको शिक्षण संस्थामा भर्ना भई CTEVT को रजिस्ट्रेशन कायम गरेपछि मासिक ३,५०० रुपैयाँ निर्वाह भत्ता, वार्षिक १,५०० रुपैयाँ यातायात खर्च र वार्षिक २,५०० रुपैयाँ पोशाक खर्च पाउने सूचनामा उल्लेख छ।
आर्थिक अवस्था कमजोर भएका तथा प्राविधिक शिक्षामा पहुँच नपुगेका समुदाय र स्थानीय तहका विद्यार्थीलाई प्राथमिकता दिने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो।